अमरगढी नगरपालिका–२ का काँडे, टूँडा, थापाथली, आइत, जोशीनालगायतका गाउँमा खानेपानीको समस्या समाधान नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।
अव्यवस्थित भौतिक बिकासका कारण भएका खानेपानीका मुहान सुक्दै गएपछि गाउँमा खानेपानीको हाहाकार भएको स्थानीयको गुनासो छ ।
धारामा पानी नआउँदा नजिकैको न्वालोबाट पानी भरेर समस्या टार्ने आएको भए पनि न्वालोमा पनि पानि सुकेर गएपछि थप समस्या उत्पन्न भएको स्थानीय महेश्वरी भण्डारीले गुनसो गर्नु भयो
उहाँले भन्नुभयो– ‘अहिले त न्वालोमा पनि पानी सुकि सकेको छ । बस्ती बढ्नु र जताततै खनिएको सडकले पानीको मुहान सुक्नुले पनि समस्या बढाएको हो । खानेपानी समस्याका कारण बालबालिकालाई समयमै विद्यालय पठाउन सकिएको छैन् । पानीको अभावमा शौचालय प्रयोग गर्न तथा सरसफाइ गर्न समेत समस्या हुनेगरेको छ । ’
गाउँमा खानेपानीको अभाव हुँदा आफूहरुले पानीकै लागि भौतारिनु परिरहेको जोशीना गाउँका स्थानीय निरज जोशीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नुभयो– यहाँका करिब झण्डै ३ सय परिवार खानेपानीको अभावमा झेलिरहेका छन् । हिउँद र गर्मीयाम सुरु भएलगत्तै खानेपानीकै चिन्ता हुन्छ । सुख्खायाम र खडेरीमा पानी सुक्ने भएकोले खोलाबाट पानी बोक्नु पर्ने बाध्यता छ ।’
‘गाइभैसीका लागि समेत बोकेर पानीको जोहो गर्नु पर्छ । गाउँमा खानेपानी पुर्याउँछु भन्ने कता गए थाहा नै छैन्, थापाथलीका खडक थापाले भन्नुभयो, ‘हाम्रा लागि जनप्रतिनिधि र सरकार छ भन्ने आभाष नै छैन् ।’
अमरगढी नगरपालिका वडा नम्बर २ का अध्यक्ष हेमराज पन्तले गाउँमा आएका खानेपानी आयोजनाले पूर्णता नपाएका कारण खानेपानीको समस्या समाधान हुन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘गाउँमा खानेपानी समस्या समाधान गर्नका लागि संघीय र प्रदेश सरकारका बिभिन्न आयोजनाका काम चलिरहेका छन् । तर, पूर्णता पाएको छैन् । गाउँमा पानीको अभाव हटाउन लागिपरेका छौँ ।’
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट व्यवस्था गरिएको भएता पनि यहाँका नागरिकले भने त्यसको प्रत्याभूति गर्न नपाएको गुनासो गरेका छन् ।