INSEC Online

📅 २०८३ जेष्ठ २१

धौलागिरी अस्पतालमा जनशक्ति अभावः उपचारका लागि पालो पाउनै समस्या  

दशैँ अगाडि बिरामी परेर अस्पताल पुग्नुभएका बागलुङ नपा-३, खहरेका ६५ वर्षीय टिकाराम सुनारले दशैँ सकिएपछि बल्ल उपचार पाउनु भयो । यहाँको धौलागिरी अस्पतालमा बिरामीले हप्तौँ पालो कुरेर उपचार गराएको यो एउटामात्र उदाहारण भने होइन ।

असोज २३ गते कोखो दुखेर चेकजाँचका लागि अस्पताल पुग्नुभएका टिकारामलाई २४ गतेबाट अस्पतालको ओपिडी सेवा बन्द हुने र २९ गते खुलेपछि पनि अगाडिकै बिरामी पालोमा बसेको भन्दै ३० गतेमात्र भिडियो एक्सरे गर्ने पालो दिइयो ।

भिडियो एक्सरे गर्न नपाउनुभएका टिकारामले ३० गतेको पालो पाएको पनि इमरजेन्सी बिरामीको हो । उहाँ नदुख्ने औषधी लिएर घर फर्किनु भयो । असोज ३० गते आएर एक्सरे गर्नु भएको छ । अस्पतालमा असोज ३० गते नै कात्तिक २६ गतेसम्मको भिडियो एक्सरेका लागि समय ‘बुक’ भइसकेको छ ।

टिकट काट्न लाइन, चेकजाँच गर्न लाइन, बिल काट्न लाइन बसेर बल्लतल्ल भिडियो एक्सरेमा पुगेका बिरामी हप्तौँ हुँदै महिनौ लाइन बस्नु पर्दा पनि अस्पताल प्रशासन मौन रहेको बिरामीको आरोप छ । व्यवस्थापन समिति र अस्पताल प्रशासन गुणस्तरीय सेवा प्रवाहमा गम्भीर नबनेको उनीहरूको आरोप छ ।

सरकारले ज्येष्ठ नागरिकलाई सार्वजनिक स्थानमा सेवा लिन जाँदा लाइनमा बस्नु नपर्ने भने पनि धौलागिरी अस्पतालमा हप्तौँ लाइनमै बस्नु परेको बागलुङ नगरपालिका–३ का देवप्रसाद सापकोटाले बताउनु भयो । घुँडाको समस्याले अस्पताल आएको बताउने ७५ वर्षीय देवप्रसादले तीन दिनमा बल्ल उपचार पाएको बताउनु भयो ।

धौलागिरी अस्पतालका सूचना अधिकारी शान्ति पौडेलले नागरिकको सेवामा आफूहरू गम्भीर भएर लागेको बताउनु भयो । कहीलेकँही डाक्टर बिदामा बस्दा समस्या हुने गरेको भन्दै सक्दो छिटो र सहज रुपमा सेवा दिइरहेको उहाँको दावी छ ।

भिडियो एक्सरे र सिटी स्क्यानको लागि जनशक्ति कम हुँदा सेवा प्रवाहमा केही समस्या भएको पौडेलले बताउनु भयो । उहाँले भन्नु भयो-‘अहिले अस्पतालमा डाक्टरको सङ्ख्या पनि बढेको छ । डाक्टर आएपछि बिरामी बढ्नु पनि स्वभाविक हो, सेवा सुविधा पनि बढाएका छौँ ।’

अन्य

भिडियो