पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १९ वर्षीया युवतीलाई ०८१ असोज २५ गते बेपत्ता बनाएको आरोपमा प्रहरीले महाकाली प्रहरी चौकीका हवल्दार कृष्णराज जोशीलाई असोज २६ गते गिरफ्तार गरेको छ ।
युवतीलाई बेपत्ता पारेर माहाकाली पारी भारत भागेका प्रहरी हवल्दार जोशीलाई स्थानीयहरुले नियन्त्रणमा लिएर कुटपिट गरी प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय,बैतडीका डीएसपी मकेन्द्र मिश्रले बताउनु भयो ।
स्थानीयहरुले नियन्त्रणमा लिई दाम्लोले बाँधेर कुटपिट गरी घाइेत भएका घटनाका आरोपित जोशीको जिल्ला अस्पताल, बैतडीमा उपचार भइरहेको र उपचारपछि अनुसन्धान सुरु गरिने डिएसपी मिश्रको भनाइ छ ।
१९ वर्षीया युवती ०८१ असोज २५ गते बिहान ४ बजे पानी ल्याउने भन्दै घरबाट निस्किएकी थिइन् । दिउँसोसम्म पनि घर नफर्किएपछि परिवारले युवतीको खोजी गरेका थिए । बेपत्ता युवती अझै फेला परेकी छैनन् ।
कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका–५ निवासी प्रहरी हवल्दार जोशी र युवतीबीच विगतदेखि नै फोन सम्पर्क र भेटघाट हुने गरेकोले युवतीलाई प्रहरी हवल्दार जोशीले नै बेपत्ता गरेको स्थानीहरुको आरोप छ ।