नेपालीहरूको महान चाड बडा दशै, शभ दिपावली र छठ पर्वको पावन अवसरमा नेपालस्थित सरकारी तथा गैर सरकारी निकायमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई आफ्नो परिवारसँग खुसीयाली र हर्षउल्लासका साथ चाडवाड मनाउन तलबको साथै दशै भत्ता दिने गरिए तापनि बहुदरमाई नगरपालिका र पकहाँ मैनपुर गाउँपालिकामा नगरसभा नहुँदा दुई पालिका मातहतका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरूले आर्थिक वर्ष ०८१/०८२ शुरु भएदेखि असाेज २२ गतेसम्म तलब पाएका छैनन् ।
दुवै स्थानीय तह अन्तर्गतका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरूले नयाँ आर्थिक वर्षकाे साउन महिनादेखि नै तलब पाएका छैनन् । बहुदरमाई नगरपालिकाकाे नगर सभा समप्नन नहुँदा नगरपालिका अन्तर्गतका १८ विद्यालयका २ सय १८ जना शिक्षक तथा शिक्षिका र नगरपालिका सहित विभिन्न कार्यालयका १ सय ५८ जना सरकारी कर्चारीहरूले तलब भत्ता पाएका छैनन् ।
साउनदेखिकाे तलब र दशैं भत्त नपाउँदा दशैं मनाउन समस्या भएकाे श्री महाबिर साह माध्यमिक विद्यालय बहुदरमाई नगरपालिका वडा नं ३ नगरदाहाका शिक्षक सुदर्शन प्रसादले दुखेसाे सुनाउनु भयाे ।
“तलब भत्ताको माँग गर्दै असाेज १६ गते बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासहन साह तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तुफालाई ज्ञापन पत्र बुझाएको भए तापनि हालसम्म तलब र दशैं पेश्की नपाएकोले छाेरा/छाेरीकाे स्कुल फि तिर्न र घर खर्च चलाउन गाह्रो भएकाे”- उहाँले भन्नुभयो ।
दशैं पछि नगर सभा सम्पन्न गरी शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरूको तलब पठाउने आश्वासन नगर प्रमुख सिंगासन साह तेलीले दिनु भयाे । नगरपालिकाकाे आन्तरिक विवादका कारण नगर सभा हुन नसकेकाे बताउनु हुँदै प्रमुख तेली समस्या समाधानकाे प्रयास आफ्नो तर्फबाट जारी राहेकाे नगर प्रमुख तेलीले बताउनु भयाे ।
यसैगरी, पकहाँ मैनपुर गाउँपालिका अन्तर्गतका १६ विद्यालयका १ सय १५ जना शिक्षक शिक्षिका र नगरपालिका सहित विभिन्न सरकारी कार्यालयका ७२ जना कर्मचारीहरूले तलब पाएका छैनन् ।
पकहाँ मैनपुर गाउँपालकाकाे गाउँ सभा सम्पन्न भए पनि असाेज २२ गते सम्म आफूहरू तलब नपाएकाे शिक्षक महासंघ पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश पटेलले बताउनु भयाे । उहाँले भन्नु भयो- “०८१ साउनदेखि असाेज २२ गतेसम्मकाे तलब र दशैं पेश्की हालसम्म पनि आफूहरूले नपाउँदा साह्रै दु:ख लागेकाे छ ।”
गाउँ सभा ढिलाे सम्पन्न भएको कारण शिक्षक र कर्मचारीहरूकाे तलब पठाउन पनि ढिलाे भएकाे पकहाँ मैनपुरका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले बताउनु भयाे । गाउँ सभा सम्पन्न पश्चात गाउँपालिकाकाे खाता सञ्चालन गर्ने पक्रियामा रहेकाे बताउनुहँदै उहाँले असाेज २३ गतेसम्म तलब र दशैं भत्ता पठाउने आश्वासन दिनु भयाे ।