लगातारको वर्षा र त्यसपछिको पहिरोले बेनिघाटरोराङ र गजुरी गाउँपालिकाका २३ विद्यालयमा पहिरोले क्षति पुर्याएको छ । असोज १०, ११, र १२ गतेको वर्षाले विद्यालयमा समेत पहिरो आएका कारण १० विद्यालयलाई क्षति पुर्याएको छ भने ४ विद्यालयको पठनपाठन समेत बन्द गर्नु पर्ने अवस्था आएको छ ।

बेनिघाटरोराङ गाउँपालिका-८ को सूर्योदय आधारभुत विद्यालय, वडा नम्बर ४ मा रहेको बेलडाँडा कालिका आधारभुत विद्यालय भवन अगाडि र पछाडीबाट पहिरो गएका कारण पठनपाठन बन्द गरिएको हो ।

वडा नम्बर २ को सीतामाई आधारभुत विद्यालयको छानामा ठूलो रुख ढलेर थिचेको छ भने कक्षाकोठामा बस्न नसकिने अवस्था आएको छ । वडा नम्बर ४ को जनजागृति सिद्ध आधारभुत विद्यालय विद्यालय दुवैतर्फबाट पहिरो गएकोले पठनपाठन बन्द भएको हो ।

बेनिघाटरोराङ गाउँपालिकामा १० विद्यालयलाई पहिरोले क्षति पुर्याएको र विद्यालयहरु बन्द समेत भएकोले प्रदेश सरकार र गाउँपालिकालाई तथ्याङ्क समेत उपलब्ध गराइसकेको बेनिघाटरोराङ गाउँपालिका शिक्षा शाखाका प्रमुख बोधराज पाठकले जानकारी दिनु भयो ।

हर्कपुर मावि, कुनचुरुङ आधारभुत विद्यालय, भँगेरी आधारभुत विद्यालय, बेलडाँडा कालिका आधारभुत विद्यालय, वागेश्वरी आधारभुत विद्यालय, धुषा आधारभुत विद्यालय, वितेश आधारभुत विद्यालय र सूर्योदय आधारभुत विद्यालयको कम्पाउण्ड वाल भत्केकाे छ भने, विद्यालय जानै नसक्ने गरी अगाडि र पछाडीबाट पहिरो गएकाे छ ।

यसैगरी गजुरी गाउँपालिकाका १३ विद्यालयमा पहिरोले क्षति पुर्याएको छ । पहिरोले क्षति पुर्याएका केही विद्यालयमा भने पठनपाठन गर्नै नसकिने अवस्था आएको छ । एक जना विद्यार्थीको गजुरी गाउँपालिकामा ज्यान गएको छ ।

नवज्योति आधारभुत विद्यालयको भवनमै क्षति पुगेकोले पठनपाठन बन्द गरिएको छ । गजुरी गाउँपालिका-३ मा रहेको वागेश्वरी आधारभुत विद्यालय भवन चर्केको र अन्य विद्यालयको सबै कम्पाउण्ड वाल पहिरोले भत्केकाे गजुरी गाउँपालिका शिक्षा शाखा प्रमुख सन्तोष पौडेलले जानकारी दिनु भएको छ ।
