INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा दुई महिनादेखि बालरोग डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती

जिल्ला अस्पतालमा दुई महिनादेखि बालरोग विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती भएको छ ।

जिल्ला अस्पताल, बिजुवारमा उपचार गर्न आउने बिरामीहरू अस्पतालमा बालरोगको विशेषज्ञ दरबन्दी भए पनि अहिले डाक्टर नहुँदा निजी मेडिकलमा जान बाध्य भएको प्यूठान नगपालिका-२ का स्थानीय गोपाल पाण्डेले बताउनु भयो । आफनो ६ वर्षीया छोरीलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउँदा बालबालिका हेर्ने डाक्टर नभएकोले निजी मेडिकलमा महङ्गो शुल्क तिरेर उपचार गराएको पाण्डेले बताउनु भयो । यसैगरी आफ्ना दुई जना छोराछोरीको उपचारमा आउनु भएको माण्डवी गाँउपालिका-४ की माया केएमले छोरा छोरीको जिल्ला अस्पतालमा बालरोक विशेषज्ञ नहुँदा आफूले मेडिकलमा लगि उपचार गर्दा धेरै रकम खर्च भएको गुनासो गर्नुभयो ।

अहिले अस्पतालमा सात जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा महिला र बाल रोग विशेषज्ञ केही महिना यता नभएको र ल्याउनको लागि पहल गरिएको हुनाले छिट्टै आउने जिल्ला अस्पताल, प्यूठानका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर राजेन्द्र पौडेलले बताउनु भयो । महिलाको हकमा एमविविएस डाक्टरले हेर्दै आउनुभएको र बालबालिकाको हकमा समस्या भएको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पौडेलले बताउनु भयो ।

बाल रोग विशषज्ञ डाक्टर केही महिना अघि कार्यरत रहनु भएको र उहाँको सरुवा भएपछि खाली रहेकोले डाक्टर माग गरी सम्बधित निकायमा पठाएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष बिजयबिराज विष्टले बताउनु भयो ।

नेपालको संविधानको मौलिक हकको धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवाको पहुँच उल्लेख भए तापनि प्यूठान अस्पतालमा दरवन्दी अनुसारका डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती भएको हो ।

अन्य

भिडियो