नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा पाँच ओटा विद्यालयको भौतिक संरचनामा क्षति पुग्नुको साथै विद्यालय उच्च जोखिममा परेका छन् । असोज १०, ११ र १२ गते परेको निरन्तर वर्षाको कारण आएको पहिरोबाट केही विद्यालयका केही कक्षा कोठामा क्षति पुगेको छ भने विद्यालयहरू पहिरोको उच्च जोखिममा परेको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी सम्झना थपलियाले जानकारी दिनुभयो ।
विदुर नगरपालिका–३ को प्रगतिशील माविको भवनको केही कोठामा क्षति पुगेको छ भने विद्यालय नजिकैको पहिरोको कारण विद्यालय भवन नै जोखिममा परेको छ । यस्तै, बेलकोटगढी नगरपालिका–८ को कल्याणीदेवी मावि, वडा नं. १३ को शक्ति मावि र वडा नं. ६ को मालिका माविको भवन नजिकै पहिरो गएकोले विद्यालय भवन जोखिममा परेको सूचना अधिकारी थपलियाले बताउनु भयो ।
बलेकोटगढी नगरपालिका–१ को बेलकोटभञ्ज्याङ माविको भवनमा विद्यालयमाथिबाट आएको पहिरोले मुख्य भवनमा क्षति पुर्याएकोले वैकल्पिक कक्षाकोठाबाट पठनपाठन सञ्चालन भइरहेको सूचना अधिकारी थपलियाले बताउनु भयो ।

धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार बेनिघाटमा दुई ओटा पुल क्षतिग्रस्त भएको र थाक्रे गाउँपालिकाका तीन ओटा विद्यालय पहिरोले क्षति पुर्याएपछि पढाइ प्रभावित भएको छ ।
पृथ्वी राजमार्गमा पर्ने बेनिघाटरोराङ गाउँपालिकाको चरौँदी र हेकलुङमा रहेको पुलमा बाढीले क्षति पुर्याएपछि ४६ जना विद्यार्थीको पढाइ प्रभावित भएको हो । बेनिघाटरोराङ गाउँपालिका-१० र गोरखा जिल्लाको गण्डकी गाउँपालिका-६ जोड्ने त्रिशुली नदीमाथिको पुल बाढीले बगाएपछि २१ जना विद्यार्थी विद्यालय आउन नपाएको शङ्खादेवी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तिलक चेपाङले बताउनु भयो ।
तुइनमात्र भएको स्थानमा विद्यार्थीहरु विद्यालय आउजाउमा समस्या परेको अवस्थामा हालिएको पुल तिनदिनको लगातारको वर्षाले बगाएपछि दैनिक विद्यालय आउनुपर्ने चेपाङ बालबालिका विद्यालय आउन नपाएका हुन् ।
लुप्राङ, हेकलुङ, थुम्का, भञ्ज्याङ गाउँबाट नियमित अध्यायनका लागि विद्यार्थीहरु जोगिमारास्थित शङ्खादेवी माध्यामिक विद्यालयमा आउने गरेका थिए । पुल बगाएपछि दैनिक विद्यालय आउनेमात्र नभएर सयौँभारी तरकारी बजार ल्याउने बाटो नै बन्द भएको हो ।
त्रिशुली नदीमा आएको ठूलो बाढीका कारण बेनिघाटरोराङ गाउँपालिका-७ चरौँदीबाट गण्डकी गाउँपालिका-७ जोड्ने झोलुङ्गे पुल बाढीले क्षतिग्रस्त पारेपछि २५ जना गोरखा क्षेत्रका विद्यार्थी विद्यालय आउन पाएका छैनन् । चन्द्रोदय मावि विशालटारमा अध्यायन गर्न आउने गोरखाका विद्यार्थीहरुलाई सास्ती भएको छ ।
थाक्रे गाउँपालिकाका तीन ओटा विद्यालयमा वर्षापछिको बाढीपहिरोले क्षति पुर्याएपछि पठनपाठन बन्द भएको छ । लितिमहाङ्काल मावि, उडुवादेवी आधारभूत विद्यालय र शिलादेवी आधारभूत विद्यालयमा क्षति पुगेकोले यसलाई बाहिरबाट संरक्षण गर्ने कार्यक्रम ल्याउन विद्यालयहरुले अनुरोध गरेको थाक्रे गाउँपालिका शिक्षा शाखाका प्रमुख दुर्गादेवी खड्काले बताउनु भयो ।
लितिमहाङ्काल माविमा २ सय ९१ जना विद्यार्थी रहेको अवस्थामा विद्यालय आउन समेत विद्यालयको पर्खाल लडेर खोलातिर पुगेका कारण विद्यालयमा विद्यार्थी आउन नसक्ने भएकाले विद्यालय नै बन्द गरिएको प्रधानाध्यापक ओमप्रसाद सापकोटाले बताउनु भयो ।
उजुवादेवी आधारभूत विद्यालयसम्म जाने बाटो नै क्षतिग्रस्त भएको विद्यालय जाने बाटो डोजर लगाएर बनाउन थालेको र विद्यालय भवन समेत क्षति पुगेको थाक्रे गाउँपालिका-७ का वडा अध्यक्ष युवराज खतिवडाले बताउनु भयो ।

दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार वर्षाका कारण तामाकोशी नदीले विद्यालयमा क्षति पुगेपछि खिम्ती प्रोजेक्ट विद्यालयमा पढाइ अबरुद्ध भएको छ । तामाकोशी गाउँपालिका–५ किर्नैटारमा सञ्चालित खिम्ती प्रोजेक्ट माध्यामिक (संस्थागत) विद्यालयमा ३ सय ७८ विद्यार्थी पठनपाठन गर्दै आएका प्रिन्सिपल खिलाबहादुर अछामीले बताउनु भयो ।
असोज १२ गते तामाकोशी नदीले बहाव क्षेत्र परिवर्तन गरी विद्यालयको कम्पाउण्डसहित भवन र खेल मैदानसमेत लडाएको प्रिन्सिपल अछामीले बताउनु भयो । नदीले बहाव परिवर्तन गरी कटान गर्दा विद्यालयका दुई ओटा भवनमा क्षति पुगेको र विद्यालय आउजाउ गर्ने बाटोसमेत नदीले कटान गर्दा पठनपाठन बन्द गर्नुपरेको सोही विद्यालयका शिक्षक पुरुषेत्तम आचार्यले बताउनु भयो ।