कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन असोज १० गतेदेखि सक्रिय भएपछि प्रकृतिजन्य विपद्का घटनामा नागरिकले ज्यान गुमाउनुका साथै विस्थापित हुनु परेको छ ।
बाढीपहिरोमा परेर कोशी प्रदेशमा आठ जनाले ज्यान गुमाउनुका साथै आठ जना बेपत्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
धनकुटा, पाँचथर, झापा, संखुवासभा, ताप्लेजुङ, सुनसरी, खोटाङ र मोरङमा अविरल वर्षापछिको बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ ।


पाँचथर प्रतिनिधि इवारा जबेगु लिम्बूका अनुसार जिल्लाको फिदिम नगरपालिकामा मात्रै पहिरोमा परेर पाँच जनाले ज्यान गुमाउनु परेको छ । फिदिम नगरपालिका-१२ स्थायी घर भइ फिदिम नगरपालिका-४ बस्दै आउनु भएकी २४ वर्षीया सपना शेर्पा, उहाँकी पाँच वर्षीया छोरी डोल्मा शेर्पा, फिदिम नगरपालिका-१२ का ८२ वर्षीया पश्चिमा शेर्पा, फिदिम नगरपालिका-१ का ५५ वर्षीय गोपी बिश्वकर्मा र फिदिम नगरपालिका-२ की रञ्जना राईको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्लामा बाढीपहिरोमा परी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका इन्पेक्टर रुपेश तामाङले बताउनु भयो । मृतक रञ्जना राईका छोरा विपन राईलाई घाइते अवस्थामा उद्वार गरिएको छ । विपनको पॉचथर अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । फालेलुङ गाउँपालिका-५ को तारे खोलाले बगॉउदा फालेलुङ गाउँपालिका-५ की ३६ वर्षीया कमला राई बेपत्ता हुनु भएको छ । फिदिम नगरपालिका-१ दुमाहाका कृष्ण दास, उहाँकी पत्नी कमला दास, फिदिम नगरपालिका-५ घर भइ हाल फिदिम नगरपालिका-१ मा बस्दै आउनु भएका धनकुमार तुम्वापो, राजेश तुम्वापो र उहाँकी पत्नी सरस्वती तुम्बापो बेपत्ता हुनु भएको प्रहरीले जनाएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार पाख्रीबास नगरपालिका-५ गुरासे देवीथानमा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । पाख्रीबास नगरपालिका-५ का सन्तोष तामाङको घर पहिरोले पुरिदा उहाँकी ३२ वर्षीया पत्नी आशा तामाङ र सासुआमा ५० वर्षीया रामकुमारी तामाङको ज्यान गएको छ । सोही घरमा रहेकी छिमेकी २४ वर्षीया मीनमाया तामाङको उपचार गरिएको छ । छथरजोरपाटी गाउँपालिका-२ का चन्द्रबहादुर मगरको घरमा पहिरो खस्दा उहाँकी २० वर्षीया छोरी सृजना मगर घाइते हुनु भएको छ ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार इलाममा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । माई नगरपालिका-८ सेतेखोलाले बगाएर ६८ वर्षीय मैतबहादुर लिम्बूको ज्यान गएको प्रहरीले जनाएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार अत्यधिक वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै जिल्ला सदरमुकाम जोडिने सडक भत्किएपछि जनजीवन थप कष्टकर भएको छ । बाढीका कारण बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले असोज १३ र १४ गते विद्यालय बिदा दिएको छ । खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारको पक्की पुलले बगाएपछि जिल्लाको तराईसँगको सोझो सम्पर्क टुटेको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि जिल्ला प्रशासन कार्यालयले कोशी ब्यारेजमा पैदययात्रु र सवारी साधन सञ्चालनमा रोक लगाएको छ । असोज १२ गते सार्वजनिक सूचना जारी गरी अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि कोशी ब्यारेज पुलमाथि आवतजावतमा रोक लगाएको छ ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार पहिरोले पुरिएर जिल्लामा पाँच जनाको ज्यान गएको छ । सोलु दुधकुण्ड नगरपालिका-९ गोराखानीमा तीन जना र वडा-१० टाप्टिङमा दुई जनाको ज्यान गएको नगरका प्रवक्ता ग्याल्जेन शेर्पाले बताउनु भयो । सोलुदुधकुण्ड नगरपालिका-१० टाप्टिङको चैलुङ गाउँमा स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा आमाजु बुहारीको ज्यान गएको छ । पहिरोमा पुरिएर ३० वर्षीया कविता मगर र ४१ वर्षीया रुपु मगरको ज्यान गएको हो ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लाको रौतामाई गाउँपालिका-१ मा बाढीले बगाएर १५ वर्षीया बालिका हिसिला तामाङको ज्यान गएको छ । बाढीपहिरोका कारण सडक भत्कनुका साथै नागरिक विस्थापित हुनु परेको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार बाढीले बगाउँदा जिल्लामा तीन जना बेपत्ता भएका छन् । असोज ११ गते कचनकवल गाउँपालिका-१ का पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिका जमुवा खोलामा बेपत्ता हुनु भएको छ । खोला तर्ने क्रममा बालिका बेपत्ता भएको प्रहरीले जनाएको छ । कमल गाउँपालिका-१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरी बेपत्ता हुनु भएको छ ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार निरन्तरको वर्षासँगै आएको बाढीका कारण मोरङमा ९४ परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदाका ९४ परिवार विस्थापित भएका हुन् । रंगेली नगरपालिका-२ लक्ष्मीपुरका १६ परिवार विस्थापित भएका छन् । उनीहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । रंगेली नगरपालिका-९ मा डाँस खोलाको बाढी खोलाधार टोलमा पसेपछि २२ परिवार विस्थापित भएका छन् । बाढीबाट विस्थापित भएकाहरुलाई दोहमना बजारमा राखिएको छ । विराटनगर महानगरपालिका-२ र कटहरी गाउँपालिका १ का स्थानीय पनि विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर-२ का ३ परिवार आफन्तको घरमा सरेका छन् । कटहरी-१ बख्खु टोलका चार परिवार विस्थापित भएका छन् । उनीहरुलाई नारी विकास संघको भवनमा राखिएको छ । सिंघियाकै बाढीका कारण जहदा गाउँपालिक-१ धुनी टोल सरबरीया बस्तीमा २५ घर डुबानमा परेका छन् । उनीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ । धनपालथान गाउँपालिका-३ बेतौना टोलका २४ परिवार विस्थापित भएका छन् । मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा छिरेपछि उनीहरु विस्थापित भएको प्रहरीले जनाएको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार मनसुनजन्य विपदका कारण जिल्लामा दुई ओटा घर पहिरोले बगाएको छ । छथर गाउँपालिकाका १९ ओटा घर पहिरोको जोखिममा परेका छन् । पहिरोले विद्यालय जोखिममा परेपछि म्याङलुङ नगरपालिकाले सार्वजनिक सूचना जारी गरी विद्यालय बन्द गरेको छ । फेदाप गाउँपालिका–३ को महाकाली माध्यमिक विद्यालय पहिरोको पूर्ण जोखिममा परेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनु भएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार निरन्तरको वर्षातका कारण भोजपुरको जनजीवन प्रभावित निरन्तरको वर्षातका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । पहिरोले दुई ओटा घरमा क्षति पुगेको छ । जिल्लाका नौ ओटै स्थानीय तहका मुख्य तथा ग्रामीण सडकमा क्षति पुगेको छ । बाढी बिग्रिएपछि एम्बुलेन्सलगायत सवारी साधन सञ्चालनमा समस्या भएको छ । सडकसँगै अन्य बाटाहरुसमेत क्षति पुग्दा बालबालिकालाई विद्यालय आवतजावतमा समस्या भएपछि रामप्रसादराई गाउँपालिकाको एउटा सामुदायिक विद्यालयले बिदा दिएको छ । अविरल वर्षाका कारण मध्यपाहाडी लोकमार्गमा अन्तरगत लेगुवा–भोजपुर–चखेवा सडक खण्डको अरुण गाउँपालिका–४ माङसुवा,ओदाने र टेम्केमयुङ गाउँपालिका–२ श्रीदलीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी युवराज तिम्सिनाले बताउनु भयो । प्रतिकुल मौसमका कारण भोजपुर बहुमुखी क्याम्पसमा सञ्चालित सवै परीक्षाहरु स्थगित गरिएको छ । वर्षात कारण समस्या भएपछि परीक्षा स्थगित गर्नु परेको भोजपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख भुलानाथ राईले बताउनु भयो । भोजपुर नगरपालिका–४ की चन्द्रकला श्रेष्ठको घर, वडा–५ मसिनेबेशका भीमबहादुर दाहालको घरमा पहिरोले क्षति पुगेको छ । टेम्केमैयुङ गाउँपालिका–६ मा रहेको स्वास्थ्य चौकीमासमेत पहिरोले क्षति पुगेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनु भयो ।