काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–६ बौद्ध स्थायी घर भई चौतारा साँगाचोकगढी नपा–६ गौरती बस्दै आउनु भएकी ४७ वर्षीया आशामाई तामाङ (लामा)लाई जिल्ला अदालतको गेटमा बसेका प्रहरीले दुर्व्यवहार गरेको पीडितको आरोप छ ।
प्रहरीले लछारपछार गरी अदालतभित्र पस्न समेत नदिएर गाडीमा राखी स्याउलेको एकान्त ठाउँमा पुर्याएर शरीरभरी नीलडाम हुनेगरी कुटपिट गरी घाइते बनाएको भन्दै न्यायिक प्रक्रियामा सहयोगका लागि असोज ९ गते इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा लिखित अनुरोध गर्नुभएको छ ।
भदौ २७ गतेदेखि अदालतमा मुद्दा दर्ताको लागि प्रयास गर्दा अदालतभित्र रहेका वैतनिक वकिलले मुद्दा लेख्न नमानेको र अदालतका श्रेस्तेदारले समेत असहयोग गरेपछि अदालतको गेटमा धार्ना दिएर बस्दा ०८१ असोज ८ गते प्रहरीले दुव्र्यवहार गरी यातना दिएको तामाङले इन्सेकलाई दिएको निवेदनमा उल्लेख छ ।
इन्सेक जिल्ला प्रतिनिधिले असोज ९ गते जिल्ला अदालतका श्रेतेदार प्रेमप्रसाद पौड्याल र जिल्ला न्यायाधीश भगवती शर्मासँग भेट गरी कुराकानी गर्दा आशामाई तमाङले अदालतको कामलाई बाधा पुग्ने गतिविधि गरेकाले प्रहरीले हटाएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले अदालत र जिल्ला प्रहरी कार्यालयको परिसरमा अनावश्यक विवाद गरी, कार्यालयको गेट ढकढक्याउने, काममा बाधा पुर्याउने जस्ता कार्य गरेकोले प्रहरीको मोटरमा राखेर उहाँ बस्ने ठाउँ स्याउलेमा पुर्याइदिएको बताउनु भयो ।
तीन वर्षअघि आशामाई तमाङको जग्गाबाट बाटो खनेर लगेको विवादमा क्षतिपूर्तिको माग दावी गर्दै उहाँ विभिन्न निकायमा पुग्नुभएको बताउनु हुन्छ । दुई वर्षअघि पनि जिल्ला प्रहरी कार्यालयले गैरकानुनी ढङ्गले गिरफ्तार गरी दुर्व्यवहार गरेको ठहर गर्दै राष्ट्रिय मानव अधिकार आयोगले पीडित तामाङलाई ५० हजार रुपियाँ क्षतिपूर्ति दिलाउनु भनी गृह मन्त्रालयलाई लेखी पठाएको थियो ।
न्यायका लागि धेरै ठाउँमा पुगेता पनि कतैबाट न्याय नपाएकोले पुनः न्याय माग्दै जिल्ला आएको पीडित आशामाई तमाङको भनाइ छ ।

