INSEC Online

📅 २०८३ जेष्ठ २१

बागलुङमा डेङ्गुको परीक्षणका लागि किटको अभाव

पछिल्लो समय बागलुङ जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । जिल्लामा असोज ५ गतेसम्म २ सय १९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

धौलागिरी अस्पतालसँगै जिल्लाका स्वास्थ्य संस्थाहरुमा डेङ्गुका लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको भएपनि किट अभाव हुँदा परीक्षण प्रभावित भएको छ ।

अहिलेसम्म बागलुङ नगरपालिकाका ९३, जैमिनी नगरपालिकाका आठ, गलकोट नगरपालिकाका ७२, ढोरपाटन नगरपालिकाका १०, काठेखोला गाउँपालिकाका पाँच, ताराखोला गाउँपालिकाका दुई, बडिगाड गाउँपालिकाका नौ, निसीखोला गाउँपालिकाका ६, तमानखोला गाउँपालिकाका एक र जिल्ला बाहिरका १३ जनामा डेङ्गुको सङ्क्रमण पुष्टी भएको छ ।

ज्वरोसँगै डेङ्गुका लक्षण भएका बिरामी अस्पतालमा दैनिक २ सय जनाभन्दा बढी आउने गरेको भएपनि धौलागिरी अस्पतालले किट अभावमा सबैको परीक्षण गर्न नसकिएको भन्दै बिरामीलाई फर्काउने गरेको छ ।

साउन महिनामा गलकोट क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढी देखिएको भएपनि भदौबाट बागलुङ नगरपालिकामा डेङ्गु फैलन थालेको उहाँको भनाइ छ ।

अस्पतालले किट अभावमा सबैको परीक्षण गर्न नसकिएको भन्दै किटको व्यवस्थापन गरिदिन स्वास्थ्य कार्यालय बागलुङ र स्वास्थ्य निर्देशनालय पोखरामा आग्रह गरेको धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रबिरञ्जन प्रधानले बताउनुभयो ।

स्वास्थ्य कार्यालय बागलुङले पनि डेङ्गु रोग महामारीको रुपमा आएकोले रगत परीक्षण किट भित्र्याउन सबैको चासो र पहल हुनुपर्ने आवश्यकता औँल्याएको छ ।

बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेङ्गुका बिरामी धेरै भेटिएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनु भयो । परीक्षण किट व्यवस्थापनका लागि पहल भइरहेको पनि शर्माले बताउनु भयो ।

अन्य

भिडियो