भूकम्पका कारण घरवार बिहिनभएका पीडित परिवारहरुको पुनर्स्थापना हुन नसक्दा कष्टकर जिवन जीउन बाध्यभएका छन् ।
खप्तड छेडेदह गाउँपालिका–५ का ६५ वर्षीय साउने सार्कीको परिवार पाल र टिनको अस्थायी टहरामा बस्न थालेको एक वर्ष भयो । २०८० असोज १६ गते आएको भूकम्पले चिराचिरा भएको घरमा बस्नै नमिल्ने भएपछि सार्की परिवार घरबार बिहिन भएका हुन् । साउने सार्कीको १३ जनाको परिवार हाल टिनको अस्थायी एक कोठे टहरामा कष्टकर जिवन बिताइरहेका छन् ।
आर्थिक अवस्था दयनीय भएका सार्कीको भूकम्पका कारण घरबार बिहिन बनाएपछि वर्षातको पानी होस् वा हिउँदको कठ्याङग्रीदो चिसोमा टिनको टहरामा बसेर जिवन गुजार्नु परेको उहाँको गुनासो छ ।

गाउँमा रोजगारी छैन् । पक्की घर बनाउन आफूसँग पैशा छैन् । छोराले जेनतेन ज्याला गरेर ल्याएको पैशाले परिवारको साँझ विहानको छाक टार्न मुस्कील हुने गरेको सार्कीले बताउनु भयो ।
भूकम्प पीडित परिवारलाई सरकारले टहरा निर्माणका लागि ५० हजार रुपियाँ अनुदान दिने निर्णय गरेको र पहिलो किस्ताबापतको २५ हजार रुपियाँ अनुदान पाए पनि दोस्रो किस्ताको रकम पाउन नसक्दा साहुँ र सहकारीबाट लिएको ऋणको व्याज तिर्न समेत नसकिएको भूकम्प पीडितहरुको गुनासो छ ।
साउने सार्की एक प्रतिनिधि पात्र मात्रै हुन् । बुढीगंगा नगरपालिका–९ का भूकम्प पीडित रुप नेपालीको समस्य पनि कम छैन् । सरकारले टहरा निर्माणका लागि अनुदान रकम दिने भनेपछि साहुँबाट ऋण लिएर टहरा निर्माण गरको भए पनि सरकारले पहिलो किस्ताको २५ हजार रुपियाँ मात्रै उपलब्ध गराउदा साहुँको ऋण रकम तिर्न नसक्दा साहुँहरुले समेत बिभिन्न प्रकारको धम्की दिने गरेको रुप नेपालीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘साहुँको ऋण तिर्न नसक्दा साहुँ घरमा आएर कहिलै बाख्रा उठाएर लैजान्छु कहिले बस्तुभाउ लैजान्छु भन्छन् । आफूसँग ऋण तिर्न आयस्रोत केही छैन् । खेति गर्न जमीन छैन् । नौ जनाको परिवार ज्यालादारी गरेर छाक टार्न बाध्य छौँ । गाउँमा ज्यालादारीको काम समेत पाउन मुस्किल छ ।’

गाउँकै सहकारीबाट ऋण काढेर टिन ल्याएको भए पनि सरकारले अनुदान रकम नदिएपछि सहकारीको ब्याज तिर्नै समस्या भएको बुढीगंगा नगरपालिका–९ जुवापानीका भूकम्प पीडित भोविन्द नेपालीले गुनासो गर्नुु भयो । गाउँमा रोजगारी छैन् । टिनको टहरामा कष्टकर जिवन बिताउन बाध्य साना बालबालिकाहरुलाई छोडेर कामको खोजीमा भारत समेत जान नसकेको उहाँको भनाइ छ ।
सरकारले टहरा निर्माणका लागि अनुदान रकम दिने भनेको भए पनि दोस्रो किस्ताको रकम उपलब्ध नगराएपछि पीडित परिवारहरु साहुँ र सहकारीको व्याज रकम तिर्न नसक्दा थप समस्यामा परेका छन् ।
गाउँको एकान्त ठाउँमा टहरा बनाएर बसेका भूकम्प पीडित परिवार हाल असुरक्षित छन् । गाउँ भन्दा टाँढा टिनको टहरामा कष्टकर जिवन बिताउन बाध्य भएका र असुरक्षाका कारण रातीको समयमा जागाराम बसेर रात कटाउने गरेको खप्तड छेडेदह गाउँपालिका–५ की मनकला सार्कीले दुखेसो पोख्नु भयो । अहिले टिनको टहराको चिसोले बृद्धबृद्धा, बालबालिका, सुत्केरीलाई झनै बढी समस्या भएको उहाँको भनाइ छ ।
०८० असोज १६ गते बझाङ केन्द्रविन्दु भएर आएको भूकम्पले सबै भन्दा बढी बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा क्षति पुगाएको थियो । जिल्ला प्रशासन कार्यालय, बाजुराको तथ्याङ्क अनुसार भूकम्पका कारण यस गाउँपालिकाबाट ९ सय ६६ परिवार बिस्थापित भएका छन् । यसैगरी बुढीगंगा नगरपालिकामा ४ सय ९, बडिमालिका नगरपालिकामा २ सय २७, त्रिबेणी नगरपालिकामा १ सय १३ परिवार पूर्ण रुपमा बिस्थापित भएका छन् भने बुढीनन्दा नगरपालिकामा ६६ परिवार, गौमुल गाउँपालिकामा ५५ परिवार र स्वामीकार्तिक खापर गाउँपालिकामा नौ परिवार विस्थापित भएका छन् ।

जिल्लाका नौ ओटा स्थानीय तह मध्ये सात ओटा स्थानीय तहका १ हजार ८ सय ४४ परिवारलाई अनुदान बापतको पहिलो किस्ताको रकम सम्बन्धित स्थानीय तहलाई ०८० मङ्सिर १७ गतेदेखि पुस ८ गतेसम्म पठाएको जिल्ला प्रशासन कार्यालय, बाजुराका लेखापाल हेमन्त जोशीले बताउनु भयो ।
भूकम्प पीडितहरुलाई पहिलो किस्ताको अनुदान रकम समयमै पठाइएको भए पनि स्थानीय तहले काम नगर्दा दोस्रो किस्ताको रकम संघीय सरकारबाट माग गर्न ढिलाइभएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘दोस्रो चरणको अनुदान रकम माग गर्न स्थानीय तहलाई धेरै पटक लिखित र मौखिक रुपमा अनुरोध गरे । तर, स्थानीय तहले बिभिन्न बाहानमा दोस्रो किस्ताको अनुदान रकम नै माग गर्न ढिलो गर्नु भयो । स्थानीय तहका कारण वास्तविक पीडितहरुले दुःख पाउनुभएको हो ।’
बुढीगंगा नगरपालिकाका विपद् फोकल व्यक्ति भिम गिरीले संघीय सरकारले नै समय समयमा कामको प्रकृया परिवर्तन गर्दा समयमा काम हुन नसकेको र वडाध्यक्षहरु पनि गैरजिम्मेवार भएका कारण पीडितहरु थप पीडित हुनुपरेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘वडाध्यक्षहरुले नै काम गरि दिनु भएन् । कहिले पीडित छुटे थप्नु पर्ने बताउछन् । कहिले वास्तविक पीडित नभएर अर्कैको नाम संकलिन भयो भन्नु हुन्छ । उहाँहरुको लापरबाहीले गर्दा दोस्रो किस्ताको रकम पीडितहरुले पाउन सक्नु भएन् ।’

गौमुल गाउँपालिकाले भूकम्प पीडितहरुको तथ्याङ्क संकलनदेखि सबै कार्यहरु समयमै सम्पन्न गरी सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा पठाएको भए पनि अन्य स्थानीय तहले काम नगरी दिदा आफ्नो गाउँपालिकाका भूकम्प पीडितहरुले समेत दोस्रो किस्ताको अनुदान रकम पाउन नसकेको गौमुल गाउँपालिकाका उपाध्यक्ष सिता थापाले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका विपद् फोकल व्यक्ति नैन रावलले पहिलो चरणको रकम पाएका पीडितको सङ्ख्याका आधारमा दोस्रो चरणको रकम निकासाको लागि केन्द्रमा पत्रचार र फोनमार्फत जानकारी गराएको भए पनि जिल्लाका सबै पीडितको विवरण अनलाइनमा इन्ट्री नभएसम्म रकम पठाउन नमिल्ने जानकारी प्राप्त भएको बताउनु भयो । हाल अनलाइनमा १ हजार २ सय जनाको मात्रै डाटा इन्ट्री भएको रावलको भनाइ छ ।
भूकम्प पीडितहरुलाई टहरा निर्माण गर्न उदारोमा सामान दिएको र अहिलेसम्म पनि उदारो सामानको रकम पाउन नसक्दा आफू समेत ऋणी भएको बुढीगंगा नगरपालिका–६ बाम्कामा हार्डवयर ब्यापारी मनबहादुर बानियाले गुनासो गर्नु भयो ।
नेपाल सरकारले भूकम्प पीडितहरुलाई अस्थायी टिनको टहरा निर्माण गर्न ५० हजार रुपियाँ र घर निर्माणको लागि ५ लाख रुपियाँ अनुदान रकम दिने बताएको भए पनि एक वर्ष बितिसक्दा समेत पीडितहरुले अनुदान बापतको रकम पाउन सकेका छैनन् ।