अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अनलाइनमा प्रकाशित भएको समाचारको प्रभावका कारण नाम्खा गाउँपालिका–५, हिल्सामा स्वास्थ्य सामग्री सहित औषधिको व्यवस्था गरिएको छ ।
इन्सेक अनलाइनमा ०८१ साउन २८ गते ‘हिल्सामा स्वास्थ्य चौकी नहुँदा सेवाग्राहीलाई सास्तीः उपचारको व्यवस्था गर्न स्थानीयको माग’ शीर्षकमा समाचार प्रकाशित भएपछि गाउँपालिका स्वास्थ्य शाखाले तत्काल आफ्नो गाउँपालिकालाई स्वास्थ्य सामग्री र औषधिको व्यवस्थापन गर्न अनुरोध गरेपछि हिल्साबासी औषधि उपचारको पहुँचमा जोडिएको नाम्खा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले बताउनु भयो ।
संयोजक लामाले इन्सेक अनलाइनमा प्रकाशित समाचारकै कारण आफूहरूले औषधि उपचारको व्यवस्थापन गर्न तर्फ लागेको उल्लेख गर्नुभयो । हिल्सामा स्वास्थ्य चौकी नहुँदा सेवाग्राहीलाई सास्ती भएको थियो । हिल्सामा स्वास्थ्य चौकी नभएपछि बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै हिल्साका स्थानीय नागरिकले पटक पटक उपचारको व्यवस्था गर्न माग गरेका थिए । हिल्साबासीका लागि स्वास्थ्य संस्था नभएपछि स्थानीय सेवाग्राहीले उपचारबाट वञ्चित हुनु परेको थियो । इन्सेक अनलाइनमा समाचार प्रकाशित भएपछि त्यसको प्रभावले ३० किलो मिटर टाढा रहेको चीनको ताक्लाकोट जानुपर्ने बाध्यताबाट छुटकरा पाएको व्यवसायी मुकामबहादुर तामाङले बताउनु भयो ।
हिल्सामा स्वास्थ्य चौकीको भवन भएको भए पनि उक्त भवन स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र समुदायिक स्वास्थ्य केन्द्र मध्ये कुन हो त्यसको जानकारी नभएपछि गाउँपालिका केन्द्र अन्यौलमा रहेको भए पनि प्रदेश सरकार र जिल्ला अस्पतालसँग समन्वय गर्दा उक्त भवन सामुदायिक स्वास्थ्य केन्द्र भनि प्रमाणित भएपछि भदौ १९ गते उक्त स्वास्थ्य संस्थाका लागि स्वास्थ्य सामग्री र औषधि पठाइएको संयोजक लामाले बताउनु भयो ।

