१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भानु नगरपालिका–४ दोरदोरका २८ वर्षीय राजेश दवाडीलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश चन्द्रकुमार पोख्रेलको ०८१ भदौ १८ गतेको इजलासले कसुर ठहर गर्दै पीडितलाई १ लाख रुपैयाँ कसुरदारबाट क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिनुभयो ।
बालिकालाई ०८० साउन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई प्रहरीले कात्तिक ६ गते गिरफ्तार गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत कात्तिक २२ गते जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेको थियो । आरोपित कात्तिक २३ गतेदेखि जिल्ला कारागारमा पुर्पक्षको लागि थुनामा रहेका थिए ।
पीडितको कात्तिक ६ गते दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।