अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा घरेलु हिंसा पीडित महिलाकी छोरीलाई (बालिका) शैक्षिक सामग्री सहयोग गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधिको पहलमा बालिकालाई किर्डाक नेपाल जुम्लाले शैक्षिक सामग्री सहयोग गरेको हो । बालिकालाई शैक्षिक सामग्री चन्दननाथ माध्यामिक विद्यालय, जुम्लाका निमित्त प्रधानाध्यापक बविता रोकायाले हस्तान्तरण गर्नुभएको हो ।
तिला गाउँपालिका–१, रारालिहिकी २७ वर्षीया सर्मा रावतकी छोरी १० वर्षीया आसिका बुढा खलङ्गास्थित चन्दननाथ माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययन गर्दै आउनुभएको छ । आसिकालाई विद्यालय जान स्कूल पोशाकदेखि स्टेसनरी सामग्री कपी, कलम र झोलाको निकै समस्या भएको थियो । त्यो शैक्षिक सामग्री नहुँदा छोरी आसिका विद्यालय जान नसकेको स्थानीय विजय रावतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो समस्या इन्सेक जिल्ला प्रतिनिधि रावलसँग बताएँ । उहाँले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था किर्डाक नेपाल, जुम्लाका संयोजक दिपराज रावतसँग शैक्षिक सामग्रीका लागि पहल गर्नुभयो ।’ किर्डाक नेपाल, जुम्लाले स्कूल पोशाक, झोला, १ सय ओटा कपी, डट्पेन र सिसाकलमसहित ५० ओटा गरी ८ हजार ८ सय ५० रुपियाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिएको किर्डाक नेपाल, जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले बताउनु भयो ।
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेकी घरेलु हिंसा पीडित महिला रावतलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले वैशाख ३० गते आर्थिक सहयोग गरेको थियो । २८ वर्षीय पति हरिबहादुर बुढाले पटक पटक कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरी घरेलु हिंसा गर्दै आएको पीडित महिलाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पतिसँग ०६६ साल भदौ महिनामा विवाह भएको हो । एक जना छोरा र एक जना छोरी छन् । ०८० सालको विजयादशमीको साँझ कुटपिट गरी घर निकाला गरेका हुन् । एक महिनासम्म माइती घरमा बस्दै आएँ ।’ अहिले जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका–६ मा कोठाभाडामा १० वर्षीया छोरीसहित बस्दै आएको र पतिसँग सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत जुम्लामा ०८० मङ्सिर ५ गते मुद्दा दर्ता र मुद्दा फैसला भइसकेको उहाँले बताउनु भयो ।
