INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायको माग गर्दै धर्ना !

म्याग्दीको बेनी नगरपालिका–९, गिठीनीस्थित ठुलोखोलाको जङ्गलमा गत साउन २७ गते सडेको अवस्थामा फेला परेको शव मीना परियारको भएकोले परियारको हत्यामा संलग्नको पहिचान गरी कारवाहीको माग गर्दै पीडित पक्षले तीन दिनदेखि धर्ना दिएका छन् ।

दलित एकता समाज म्याग्दी, परियार सेवा समाज म्याग्दी र मिजार सेवा समाज म्याग्दीले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिनुका साथै दबाब र्‍याली समेत आयोजना गरेका छन् ।

photo20240823myagdi (1)

धर्नामा सहभागीहरूले मिना परियारको हत्यारा खाई ? मीना परियारको हत्याको सत्यतथ्य छानविन गर लगायतका नारा लेखिएको प्लेकार्ड समातेर प्रहरी कार्यालय अगाडि सडकमा भुइमै बसेर बिरोधका साथ दवाव दिएका थिए ।

साउन २७ गते बेनी नगरपालिका–९ का स्थानीयले खोला किनारमा मानव टाउकाको खप्पर, कपाल तथा गलबन्दी जस्तो देखिने कालो रङ्गको कपडा सहित लिङ्ग पहिचान हुन नसक्ने सडेको शव फेला परेको थियो ।

photo20240823myagdi (2)

उक्त शव आठ महिना अगाडि बेपत्ता हुनुभएकी बेनी नगरपालिका-९ तोरीपानीकी १९ वर्षीया मीना परियारको हुन सक्ने स्थानीयले अनुमान गरेका थिए ।

मीना बेपत्ता हुनु पहिला लगाएको सुनको सिक्रि, चप्पल तथा अन्य कपडाका टुक्राहरु छोरीको भएको मीनाकी आमा फूलमायाँ दमाइले पहिचान गर्नुभएको बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्रबहादुर केसीले बताउनु भयो ।

साउन २७ गते शव भेटिएपछि पीडित पक्ष बिरोधमा उत्रिए पछि सवलाई ०८१ साउन ३० गतेसम्म बेनी अस्पतालमै राखिएको थियो । त्यसपछि शवलाई पोखरास्थित गण्डकी अस्पतालमा पठाएर पोष्टमार्टम गरिएको दलित अभियन्ता मनबहादुर चर्मकारले बताउनु भयो ।

पोखरामा पोष्टमार्टम भएपछि ल्याएर बेनी अस्पतालमा शवलाई राखिएको पीडित पक्षको भनाइ छ । घटनाको सत्यतथ्य छानबिन हुनु पर्ने र घटना निचोडतर्फ गएपछि मात्रै शव बुझेर लैजाने उहाँको भनाइ छ । गण्डकी अस्पतालले भने शवलाई फूलमायाँ दमाइलाई बुझाएको जनाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन रायमाझीले बताउनु भयो ।

photo20240823myagdi (4)

जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर राजन रायमाझीले कङ्कालसहित भेटिएका अन्य प्रमाणहरूलाई थप जाँच र अनुसन्धानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्म पनि पठाउनु पर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो–‘२०८१ साउन २७ गते बेलुका तिर शव भेटिएको हो र पीडित पक्षले ३० गत चार जनाका बिरुद्धमा किटानी उजुरी दिनुभएपछि शवको पोष्टमार्टम साउन ३१ गते गण्डकी अस्पताल पोखरामा भएको थियो भने जाहेरी परेका तीन जनालाई गिरफ्तार गरी सकिएको छ ।’ पोष्टमार्टम रिपोर्ट आइ सकेको छैन, उजुरी परेकाहरुलाई समाती सकेको छ र घटना प्रकृया कानुनी दायरामा आइसकेको उहाँको भनाइ  छ ।

बेनी नगरपालिका–९ की १९ वर्षीया मीना परियार २०८० पुस १६ गते राति घरबाटै बेपत्ता भएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा खोजतलासीका लागि आमा फूलमायाँले निवेदन दिनुभएको थियो ।

फूलमायाँले स्थानीय २१ वर्षिय राम खत्रीविरुद्ध किटानीसहित व्यक्ति बेपत्ता गरेको भन्दै उजुरी दिनुभएको र प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीको अनुरोधमा जिल्ला अदालत म्याग्दीले माघ २३ गते खत्री विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतबाट पुर्जी जारी भएकै दिन खत्रीलाई गिरफ्तार गरी अनुसन्धान गरी प्रहरीले बुझाएको प्रतिबेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीले २०८० फागुन १७ गते मुलुकी फौजदारी कार्याविधि संहिता–२०७४ को दफा २०६ बमोजिम व्यक्ति वेपत्ता पारेको अभियोग पत्र जिल्ला अदालत म्याग्दीमा दायर गरेको थियो ।

अदालतमा दायर भएको अभियोगपत्र बमोजिम खत्रीलाई जिल्ला अदालत म्याग्दीले २०८० फागुन १७ गते नै पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा मिना सँग शारिरीक सम्बन्ध भएको र गर्भ समेत रहेको भन्ने सन्देश सामाजिक सञ्जालबाट आदान प्रदान भएकोले बाहिर आफ्नो बेइज्जत हुन्छ भन्ने डरले मीनालाई बेपत्ता पारेको भन्ने उल्लेख छ ।

खत्रीले मीनालाई गर्भवती बनाएको समाजले थाहा पाएमा मानप्रतिष्ठामा आँच आउने डरले बेपत्ता पारेकोले मुलुकी अपराध संहिता–२०७४ को दफा २०६ को उपदफा(१) विपरीत सोही दफा २०६ को उपदफा (२)(ख) बमोजिम व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुर गरेको उल्लेख छ ।

साथै उक्त कसुर गरेकोले आरोपितलाई १५ वर्षसम्म कैद र ५ लाख रुपियाँ जरिबाना दावी जिल्ला सरकारी वकिल कार्यालयले गरेको छ ।

अन्य

भिडियो