INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिकता नपाउँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

शुभकालिका गाउँपालिका–५ की ४५ वर्षीया खगिसरा कार्कीले नागरिकता नपाउँदा सामाजिक सुरक्षा एकल महिला भत्ता पाउनबाट वञ्चित हुनुभएको छ । खगिसाका पति कलम कार्कीको मृत्यु भएको दुई वर्ष पुग्दा पनि उहाँको नागरिकता नभएका कारण सामाजिक सुरक्षा एकल महिला भत्ता पाउनबाट वञ्चित हुनुभएको हो ।

सानै उमेरमा नागरिकता हराएरपछि बुबाआमा पत्ता नलाग्दा नागरिकता नभएको पीडित कार्कीले इन्सेक प्रतिनिधिसँग गुनासो गर्नुभएको छ । उहाँको ०६१ सालमा कलम कार्कीसँग विवाह भएको थियो । पतिको ०७९ भदौ महिनामा क्यान्सर लागेर मृत्यु भएपछि तीन जना छोरी र दुई जना छोरा पाल्न कठिन भइरहेको उहाँले बताउनु भयो ।

माइती पक्षको कुनै ठाँउ, ठेगाना, पहिचान नखुलकोले नागरिकताको लागि सिफारिस दिन नसकिएको शुभकालिका गाउँपालिका–५ का वडाध्यक्ष मिमबहादुर शाहीले प्रतिक्रिया दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले आफन्त पत्ता नलागेर नागरिकताबाट वञ्चित भएको विषयमा कानुनी व्यवस्थाको बारेमा बुझ्ने र स्थानीय तह, मन्त्रालय र अन्य सरोकारवालासँग छलफल गरेर समस्या समाधानको बाटो खोज्ने बताउनु भयो ।

शुभकालिका गाउँपालिका-५ का वडा अध्यक्ष मिमबहादुर शाहीले खगिसराको जन्म घर कहाँ हो, भनेर नखुलेको र उहाँका बुबाआमा वा घरपरिवारका कुनै पनि सदस्यको पहिचान नहुँदा नागरिकता सिफारसिमा समस्या भइरहेको जानकारी दिनुभयो ।

Photo15082024Kalikot

अन्य

भिडियो