INSEC Online

📅 २०८३ जेष्ठ २१

डेङ्गीको सङ्क्रमण बढेपछि उच्च सर्तकता अपनाउन आग्रह

हिमाली जिल्लामा एकैदिन २७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।

मौसममा फेरबदल भएसँगै जिल्लाका विभिन्न स्थानमा डेङ्गीको जोखिम बढ्न थालेपछि डेङ्गीबाट बच्नका लागि उच्च सर्तकता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीहरूमा डेङ्गीको सङ्क्रमण देखिएपछि सावधानी अपानउन विभिन्न सचेतनाहरू गर्न थालिएको छ । जिल्ला अस्पताल फाप्लु, सोताङ प्राथामिक अस्पताल र दुधकोशी सामुदायिक अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीहरूमा डेङ्गीसँग मेल खाने लक्षणहरू देखिएको र चेक जाँचका क्रममा डेङ्गीको सङ्क्रमण देखिएपछि चिकित्सकले उच्च सावधानी अपनाउन आग्रह गरेका हुन् ।

Blood sample positive with dengue virus
प्रतिकात्मक तस्विर

सोताङ गाउँपालिकामा ०८१ साउन २३ गते एकैदिन २७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । १ सय ५० जनालाई नमूना किट परीक्षण गरिएकोमा २७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, फाप्लुका महामारी फोकल पर्सन अशोक शिवाकोटीले बताउनु भयो । १९ जना पुरूष र आठ जना महिला गरी २७ जनामा डेङ्गी पुष्टि भएको फोकल पर्सन शिवाकोटीले बताउनु भयो ।

जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । जसमा पुरूष २० जना र महिला १० जना रहेको फोकल पर्सन शिवाकोटीले बताउनु भयो । उक्त सङ्क्रमित व्यक्तिहरू जिल्ला बाहिर नगइ सोताङमै सङ्क्रमित भएको शिवाकोटीको भनाइ छ ।

विशेष गरी डेङ्गी रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाडाकुडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरूलाई पूर्ण रूपमा विस्तापित गर्न सके केही कम हुने फोकल पर्सन शिवाकोटीको भनाइ छ ।

नेपालले आधिकारिक रूपमा २०६३ मंसिरमा डेंङ्गी देखिएको जनाएको थियो । डेंङ्गी एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस् नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेन-१, डेन-२, डेन-३ र डेन-४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । डेंङ्गी संक्रमणले गर्दा शरीरको रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यो अवस्था रगतमा धेरैजसो प्लेटेलेटस् नष्ट हुनाले हुन्छ । यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तश्राव हुन थाल्छ । भाइरस शरीरमा प्रवेश गरेर प्लेटेलेटस्मा आक्रमण गर्छ । प्लेटेलेटस्ले शरीरमा रक्तश्राव रोक्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । डेंङ्गी सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । यसको संक्रमणबाट बच्न घरवरीपरि सफा राख्न, पानी जम्न नदिन चिकित्सकले सल्लाह दिने गरेका छन् ।

अन्य

भिडियो