खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजी विभागमा आगलागी भएको चार महिना बितिसक्दा पनि सिटी स्क्यान र भिडियो एक्सरे मेसिन सञ्चालन हुन नसक्दा बिरामीहरूलाई सास्ती भोग्नुपरेको छ ।
रोग पहिचानका लागि अति आवश्यक मेसिन सञ्चालन गर्न विद्युत आपुर्ती हुन नसकेकाले बिरामीहरू नेपालगञ्ज गइ दोब्बर भन्दा बढी शुल्क तिरेर सिटीस्क्यान, भिडियो एक्सरे गराउन बाध्य भएको जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-३ घर भइ खजुरा गाउँपालिका–७ बस्ने रत्न विकले बताउनु भयो । उहाँ दाइको छोरीको उपचार गराउन जाजरकोटबाट आउनुभएको धेरै कुरा थाहा नभएकोले खोज्दै जाँदा बढी समय र भाडा लाग्ने गरेको बताउनु भयो । ७ हजार पर्ने सिटी स्क्यानको नेपालगञ्जमा गएर गराउँदा १४ हजार ५ सय रुपियाँसम्म खर्च भएको विकले बताउनु भयो । अछाम जिल्ला घर भइ हाल खजुरा गाउँपालिका–७ बस्ने उषा शाहीले ७६ वर्षीय बुबालाई उपचारका लागि अस्पताल ल्याएको तर सुविधा नपाएपछि दुख पाएको बताउनु भयो ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाशप्रसाद शाहले आगलागिबाट क्षति भएको र विद्युतीय उपकरण सामानको खरिद प्रक्रिया अनुसार खरिद भएर आई सकेको बताउनु भयो । उहाँले सिटी स्क्यान, भिडियो एक्सरे मेसिनमा केही समस्या भएकाले मेसिन जडान गर्ने कम्पनीका मान्छेलाई बोलाएर बनाउन लगाउने शाहले जानकारी दिनुभयो ।