सुनिलस्मृति गाउँपालिका-८ स्थित वडा कार्यालयमा अज्ञात समूहले ०८१ साउन १६ गते राति तोडफोड गरेको छ ।
वडा कार्यालय भित्रको करिब १५–२० मिटर खानेपानीको पाइप काटेर लगेको सुनिलस्मृति गाउँपालिका–८ का वडा अध्यक्ष धनराज रोकाले इन्सेकलाई जानकारी दिनुभयो । कार्यालयको तीन ओटा ढोकाको ताल्चा फोडिएको र अन्य कार्यालयमा रहेका सामानहरू भने तोडफोड नभएको उहाँले बताउनु भयो ।
सुनिलस्मृति गाउँपालिका-८ स्थित वडा कार्यालयले साउन १७ गते विज्ञप्ति जारी गर्दै रातको समयमा अज्ञात समूहद्वारा वडा कार्यालयको सबै ढोकाको ताला फोडेको र खानेपानीको पाइप काटेर लगेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयका सबै ढोकाहरू फलामको सरियाले फोडी कार्यालयका दराजहरू समेत खोलेको तथा कार्यालयमा रहेका चिनी खाएकोले बालबालिकाहरूले खाना र पैसा खोज्न गएको हुन सक्ने सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकीले जानकारी दिनुभयो । गेट तथा कार्यालयका ढोकाहरू खोलिएकाले बालबालिकाले यस्तो गरेको हुनसक्ने उहाँले बताउनु भयो ।
उहाँका अनुसार उक्त घटनाको बारेमा इलाका प्रहरी कार्यालय, सुलिचौरले अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय, सुलिचौरका इन्स्पेक्टर सन्तोष घिमिरेका अनुसार ताल्चा फोडेको भए तापनि कार्यालयका ढोका र ताल्चा तोडफोड भएकोले घटना बारे थप अनुसन्धान भइरहेको छ ।


