बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँकी ४५ वर्षीया रन माया गुरुङकको मृत्यु घटना शंस्कास्पद देखेपछि सद्गत गरी गाडिएको अवस्थामा शव उत्खनन् गरिएको छ ।
रनमाया साउन ४ गते झुण्डिएर मृत्यु भएको भन्दै पति मारज गुरुङले स्थानीयहरूलाई खबर गरेका थिए । रनमायाको साउन ५ गते जातीय परम्पराअनुसार शव जमिनमा गाडेर सद्गत गरेका थिए । सद्गत गरेको ६ दिनपछि मृतकका दाजु सुकपाल गुरुङले घटना शंकास्पद रहेको भन्दै प्रहरी चौकी वारपाकमा उजुरी दिएपछि अनुसन्धानका लागि प्रहरीले शवको उत्खनन् गरेको हो ।
शवको उत्खनन् साउन ११ गते गरी मुचुल्का लगायतका कार्य गरी पोष्टमाटका लागि फरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जौवारी र गोरखा अस्पताल गोरखाबाट गएको विशेषज्ञ चिकित्सक समेतको अनुसन्धान टोलीको उपस्थितिमा गाडिएको स्थानबाट मुचुल्का लगायतका कार्य गरेर शवको उत्खनन् गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शवको साउन ५ गते प्रहरीलाई समेत खबर नगरी सद्गत गरिएको थियो । मृतकको शरीरमा निलो डाम देखेपछि माइती पक्षले अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएका हुन् । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।