६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा सर्वोच्च अदालतबाट कैद सजाय तोकिएपछि फरार भएका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ ।
बलात्कार कसुरमा सर्वोच्च अदालतबाट ०८० भदौ २५ गते ९ वर्ष ४ महिना २३ दिन कैद सजाय फैसला भएपछि फरार भएका कसुरदारलाई प्रहरीले ०८१ साउन ४ गते गिरफ्तार गरेको हो ।
कसुरदार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३२ वर्षीय नवीन राईलाई साउन ४ गते जिल्ला सुनसरी, धरान उपमहानगरपालिका-११ बाट गिरफ्तार गरी साउन ५ गते जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो । प्रहरीले कसुरदारलाई अदालतमा हाजिर गराएर साउन ६ गते कैद सजायका लागि कारागार पठाएको छ ।
पीडित बालिकालाई आरोपितले ०७० फागुन २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । जिल्ला अदालतका तत्कालीन न्यायाधीश ईश्वरीप्रसाद गौतमको ०७१ असोज ३० गतेको आदेशले आरोपितलाई सफाइ दिएको थियो । जिल्ला अदालतको सफाइलाई उल्ट्याँउदै सर्वोच्च अदालतले ०८० भदौ २५ गते कैद सजायको फैसला गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७० फागुन २३ गते गरिएको थियो ।