INSEC Online

📅 २०८३ जेष्ठ २१

टुलिङ गाउँको ३० घरधुरी परिवार पहिरोको उच्च जोखिममा

सिमकोट गाउँपालिका–७ स्थित टुलिङ गाउँका ३० घरधुरी बाढी पहिरोको उच्च जोखिममा परेका छन् । गत असार १८ गतेदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले क्षत विक्षत बनाएको छ ।
गाउँ नजिकै आएको पहिरोले यतिबेला टुलिङ गाउँका स्थानीय उच्च जोखिम मोलेर गाउँमा बस्न बाध्य भएको स्थानीय सार्की शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार केही स्थानीय गाउँ नै जोखिम परेकाले लेक तिरका छाप्राहरूमा गएर बसोबास गर्नु परेको छ ।

उक्त बाढी पहिरोले गाउँबासीको करिब ४० रोपनी खेतबारी बगाउनुका साथै उत्पादन भएको अन्न समेत क्षति बनाएको अर्का स्थानीय अमरबहादुर शाहीले गुनासो गर्नुभयो । पहिरोले गाउँको आधुनिक घट्ट, चिनो, कोदो, सिमी, फापर, आलु लगायतका अन्नबालीलाई तहसनहस बनाएको स्थानीय शाहीको भनाइ छ ।

ठूलो परिणाममा पहिरोले अन्नबालीमा क्षति बनाएपछि स्थानीयलाई भोकमरीको चिन्ता हुनुका साथै घरविहीन हुनु पर्ने चिन्ताले पिरोलेको स्थानीयले गुनासो गरेका छन् ।

बाढी पहिरोको उच्च जोखिम झेलेका स्थानीय नागरिक भन्छन् यदि सरकारले हाम्रा पीडा नबुझे भोक भोकै मर्नु बाहेक अन्य विकल्प नरहेको बताएका छन् ।

गाउँमा बाढी पहिरोले ठूलो क्षति बनाएपछि स्थानीय मिलेर असार ३१ गते संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर बाढी पहिरो गएको ठाउँमा स्थलगत निरीक्षण गरी पाउँ भन्दै अनुरोध गरे पनि हालसम्म नगरेको अर्का स्थानीय हाँसबहादुर शाहीले गुनासो गर्नुभयो ।

उहाँका अनुसार वडा नम्बर ७ को टुलिङ गाउँमा ओख्रेन गाउँका स्थानीयको पनि जग्गा रहेकोले सबै गरेर करिब ४६ घरधुरीको जग्गा क्षति बनाएको छ । सो विषयमा प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलसँग बुझ्दा उहाँले क्षति बनाएको कुरा जानकारीमा आएकोले अवको केही दिनमै स्थलगत अनुगमन गरि राहतको लागि पहल गरिने बताउनुभयो ।

Photo20240719Humla

 

अन्य

भिडियो