INSEC Online

📅 २०८३ जेष्ठ २१

सडक अवरुद्ध हुँदा आवागमनमा कठिनाइ, बिरामीलाई उपचारमा लैजान समस्या

असार २१ गते परेको भीषण वर्षाको कारण अवरुद्ध भएको जिल्लाको दोरम्बा गाउँपालिका–१ डडुवाको शैलुङ क्षेत्र जाने सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

वर्षाको कारण बिग्रिएको सडक मर्मत नहुँदा सदरमुकाम मन्थली तथा काठमाडौँबाट शैलुङको आवागमन बन्द भएको छ । सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न लैजान समेत समस्या भएको स्थानीय दावासाङ्बु शेर्पाले बताउनु भयो ।

sailung sadak

सबैभन्दा ठूलो मारमा बिरामी तथा असक्त परेका छन् । बिरामीलाई काठमाडौँ तथा मन्थली ल्याउन र लैजान निक्कै कठिन भएको स्थानीय रत्न कँडेलले बताउनुभयो ।

सडकको दुरावस्थाको कारण दोरम्बा, टोकरपुर, गौश्वारा, डडुवा लगायतका क्षेत्रबाट काठमाडौं र सदरमुकाम मन्थली आऊ–जाऊ गर्न समेत समस्या भएको पनि कँडेलले जानकारी दिनु भयो ।

सडक बन्द हुँदा शैलुङको कृषि उपज पनि स्थानीले बजार पुर्याउन पाएका छैनन् । शैलुङमा किसानले उत्पादन गरेको आलु बजार पुर्याउन नसक्दा थन्किएर बसेको छ ।

यसै वर्ष स्तरोन्नति गरिएको सडक बाढी पहिरोको कारण ठाउँ ठाउँमा भत्किएको छ । भत्किएको सडक मर्मतको काम १० दिन बित्दा पनि सुरु भएको छैन ।

शैलुङ मात्रै होइन दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्र टोकरपुर जाने सडक समेत वर्षाको कारण जोखिमपूर्ण बनेको छ ।

दोरम्बाको अग्लेश्वरीदेखि टोकरपुर पुग्ने सडक यातायात साधन चल्न नसक्ने अवस्थामा पुगेको छ ।

तर सडक मर्मतको लागि स्थानीय दोरम्बा शैलुङ गाउँपालिकाले ६५ लाख  बढी खर्च गरिसकेको छ । सडकमा ग्राभेल बिछ्याइएको भए पनि वर्षाको कारण सडक बिग्रिएर समस्या भएको गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानको भनाइ छ ।

Doramba sadak

अन्य

भिडियो