आठीसकोट नगरपालिका– १३ स्थित भूकम्प प्रभावित बस्ती झिन्चौर बगरमा तातोपानी र झिन्चौर खोलाको बाढीले साउन १ गते अस्थायी टहरा बगाउँदा घरमै पुरिएर तीन बालिकाको मृत्यु भएको छ ।
घरमा सुतिरहेको अवस्थामा राती बाढी आएपछि घर पुरिएर मृत्यु भएकी १० वर्षीया हितमाया पुन ,आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर बखत बहादुर शाहीले जानकारी दिनुभयो।
आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार बाढीले घर बगाउँदा बेपत्ता ४० वर्षीय डिल्ली बहादुर बुढाथोकीको खोजी कार्य भइरहेको छ । लेदोसहितको बाढीले घर पुरिएकाले उहाँ बसेको घरमै पुरिएको आशंका गरिएको छ । स्थानीयले लेदो हटाउन नसक्ने अवस्था भएकाले डोजर लगाएर लेदो हटाएर खोज तथा उद्धार भइरहेको छ ।
बाढीमा परि घाइते भएका सात जनाको आठविसकोट स्थित नगर अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा २२ वर्षीय मनीष पुन, १२ वर्षीय विनय सार्की, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन, र ६५ वर्षीया कल्पना कामी घाइते भएको भएका छन् । खोज तथा उद्धारलाई तीव्रता दिएको इन्स्पेक्टर शाहीले बताउनु भयो ।
