कोशी प्रदेशमा मनसुन सक्रिय भएको एक महिनाको अवधिमा बाढीपहिरो र प्राकृतिक विपद्का घटनामा २४ जनाले ज्यान गुमाउनु परेको छ । बाढीपहिरोका कारण २ सय २५ परिवार विस्थापित हुनु परेको छ । गएका वर्षहरूमा जुन १३ मा सक्रिय हुने मनसुन यस वर्ष जुन १० अर्थात् २०८१ जेठ २८ गतेदेखि सक्रिय भएको थियो ।
कोशी प्रदेशका मोरङ, ताप्लेजुङ, झापा, सङ्खुवासभा, इलाम, सुनसरी, ओखलढुङ्गा, पाँचथर र ताप्लेजुङमा मनसुनपछिको बाढी र पहिरोका कारण प्रभावित भएका छन् । कोशी प्रदेशमा मनसुनजन्य विपद्बाट जनधनको क्षति बढी भएको छ । विपद्को कहरले जनजीवन नराम्रोसँग प्रभावित भइरहेको छ ।
मनसुन सक्रिय भएपछिको अविरल वर्षासँगै पहाडमा बाढीपहिरो तथा तराईमा बाढी, डुबान र कटानको समस्याका कारण २४ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । १७ जनाभन्दा बढी घाइते र दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । १ सयभन्दा बढी पशु चौपाया मरेको र आर्थिक हिसाबले करिब १० करोड बराबरको क्षति भएको प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालयका एसपी सुमनकुमार तिमल्सिनाले बताउनु भयो ।
मोरङमा ६, ताप्लेजुङमा पाँच, झापा र सङ्खुवासभामा चार र चार, इलाम र सुनसरीमा दुई र दुई, र ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । बाढी, पहिरो तथा डुबानका कारण २ सय २५ परिवारका ७ सय ३८ जना विस्थापित भएको प्रहरीको तथ्याङ्क छ । बाढीपहिरोका कारण ताप्लेजुङमा ७५, मोरङमा ६८, सङ्खुवासभामा ५५ र झापामा २७ परिवार विस्थापित हुनु परेको छ ।
विस्थापित भएकालाई उद्दार गरेर सुरक्षित स्थान विद्यालय, सामुदायिक भवनलगायतमा अस्थायी बासस्थानको व्यवस्थापन गरिएको छ । प्रहरीका अनुसार बाढी र पहिरोका कारण ३३ ओटा घरमा पूर्ण र ४२ ओटा घरमा आंशिक क्षति पुगेको छ ।
कोशीमा बाढीपहिरो तथा डुबानका घटनामा २२ हजार घर प्रत्यक्ष प्रभावित हुने तथा ५ हजार परिवारलाई राहत र उद्दारको व्यवस्था गर्नुपर्ने आँकलन गरिएको छ । मनसुनजन्य प्रकोपको विश्लेषण गर्दै क्षति न्यूनीकरण गर्न प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पास गरेर कार्यान्वयनमा लगिसकेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताउनु भयो ।
ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लामा ०८१ जेठ ३० गतेदेखिको वर्षाका कारण पाँच जनाको ज्यान गएको छ । मनसुन सक्रिय भएसँगै वर्षापछि आएको पहिरोले पुरिएर ०८१ जेठ ३० गते सिरिजङ्घा गाउँपालिका-७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत एक मजदूर (ट्रयाक्टर चालक) को मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका-१४ लुङपा स्थायी घर भइ कावेलीमा कार्यरत मजदुर २५ वर्षीय सविन राईको खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी र पहिरोका कारण जेठ ३२ गते फक्ताङलुङ गाउँपालिका-२ खेजेनिमका एकै परिवारका चार जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन) का ७० वर्षीय बाबु रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गङ्गा र जमुनाको घर भन्दा माथिबाट आएको पहिरोले घर बगाउँदा घटनास्थल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले बताउनु भयो । फक्ताङलुङ गाउँपालिकाको तमोर नदीसहितका खोलामा लगाइएको पाँच ओटा अस्थायी पुल बाढीपहिरोले बगाएपछि फक्ताङलुङ गाउँपालिकामा जेठ ३२ यता यातायात सेवा बन्द भएको छ । बाढीपहिरोले पुल बगाएपछि एम्बुलेन्ससहित यातायातका साधन चल्न नसक्दा सबैभन्दा बढी बिरामीलाई समस्या भएको छ । पुल वारीका वारी नै र पारीको पारी नै रहेपनि विचमा पहिरोमा हिडेर सदरमुकाम सम्म आवतजावत व्यवस्था मिलाइएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनु भयो । वर्षाका कारण तमोर नदीको छिरूवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध छ । तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका-१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका-३ लिङ्खिमको सिमाना भइ बग्ने सिस्ने खोलामा रहेको दुई ओटा काठेपुल बाढीले बगाएको छ । बाढीले पुल बगाएपछि गाउँपालिकामा खाद्यान्न, औषधीलगायतका सामग्रीको अभाव हुन नदिन बोकेर लाने व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयको ०८१ असार ३१ गतेसम्मको तथ्याङ्क अनुसार जिल्लामा बाढी पहिरोमा परी तीन जना महिला र दुई जना पुरूष गरी पाँच जनाको मृत्यु भएको छ । एक जना महिला र दुई जना पुरूष गरेर तीन जना घाइते भएमा उपचारपछि घर फर्किएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो । बाढीपहिरोका कारण जिल्लामा २६ घरमा पूर्ण क्षति भएको छ भने दुई ओटा मोटरेवल काठको पुल, एउटा झोलुङ्गे पुल, एउटा ट्रस्ट पुल र एउटा सिमेन्टको पुलमा पूर्ण क्षति हुँदा एउटा बाख्रा फार्ममा पूर्ण क्षति भएको छ । बाढीपहिराको कारण १ सय १७ पशुचौपाय र ५७ पन्छी मारिएका छन् । जिल्लाका विभिन्न गाउँपालिकाका ४९ घर पहिरोको उच्च जोखिम र ८२ घर जोखिममा, एक सङ्ग्रहालय, एक माइक्रो हाईड्रो र एउटा क्रसर उद्योग जोखिममा परेका छन् । जिल्लाभित्रका ६१ ओटा वडामध्ये ४१ ओटा वडाहरू पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिले बुलेटिन निकालेर नै उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिम वडाहरुको संख्या प्रकाशन गरेको छ । जस अनुसार जिल्लाका नौ स्थानीय तहका ६१ ओटा वडामध्ये ४१ ओटा वडा पहिरोको उच्च जोखिममा र १८ ओटा वडा जोखिममा रहेका छन् । फुङलिङ नगरपालिकाको-२ र ५ गरी दुई ओटा वडा पहिरोको न्यून जोखिममा रहेको आँकलन गरिएको छ । सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा २०८० असार २ गते आएको पहिरोले मेहेले स्वास्थ्य चौकी बगाएको थियो भने हालसम्म बन्न नसक्दा वडा कार्यालयबाट सेवा दिनु पर्ने अवस्थाले सेवा प्रवाहमा र सेवाग्राहीमा समस्या रहेको स्थानीयले बताएका छन् ।












सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा मनसुनी वर्षा सुरूआत भएयता बढीपहिरोका कारण ४३ घर परिवार विस्थापित भएका छन् । मनसुनको एक महिनाको अवधिमा जिल्लामा बाढीपहिरोका कारण ४३ घर विस्थापित भएको प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले बताउनु भयो । मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु र ६ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी खड्काले मनसुनी वर्षाको एक महिनाको अवधिमा बढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानमा ४३ घर परिवार विस्थापित र २० घर गोठ भत्किएका छन् । बाढीपहिरोबाट एक महिनाको अवधिमा ६ ओटा मोटरेवल पुलमा समेत क्षति पुगेको प्रजिअ खड्काले बताउनु भयो । बाढीपहिरोबाट विस्थापितहरू आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेका छन् । पहिरोले अधिकांश उत्तर दक्षिण कोशी राजमार्ग अन्तरगतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत आयोजनामा क्षति पुगेको छ । अवरुद्ध सडक स्थानीय तहले खुलाउने प्रयास गरिरहेका जनाएका छन् । बाढी पहिरोका कारण मकालु गाउँपालिका -२ सागसेवा र मुलगाउँमा मात्रै २४ घर परिवार विस्थापित भएका छन् । बाढी पहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मूहान र विद्युत पोलमा क्षति पुगेको छ । ०८१ जेठ २१ गते बर्षासँगै आएको बाढी पहिरोले भोटखोला -४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुई वटा गाडी समेत पहिरोले क्षति पुर्याएको छ । पहिरोले भोटखोला -४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी,स्वास्थ्य उपकरण क्षति हुँदा लाखौँ रुपियाँ क्षति भएको छ । त्यस्तैगरी पहिरोले भोटखोला-४ मा निर्माणाधीन पाँच शैयाको अस्पताल पुरिएको छ । वर्षाले भोटखोला गाउँपालिकासँग सम्र्पक विच्छेद भएको छ । बाढीले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकमा पर्ने मकालु गाउँपलिका-३ मा रहेको एकुवा खोलामा रहेको मोटरेबल पुलको भग्नावशेष समेत लगेको छ । बाढी पहिरोका कारण अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भयो । बाढी पहिरोका कारण करिव ४० करोड रुपियाँ बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा तीन ओटै सुरक्षा निकायहरूमा खोज तथा उद्दारका लागि २९ जना विपद् ब्यवस्थापन तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा मनसुनजन्य विपद्बाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । ०८१ जेठ २८ गतेदेखिको वर्षासँगैको पहिरोबाट एक जना महिलाको मृत्यु भएको हो । घाइते भएका चार जनाको उद्दार गरिएको र अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मनिष लुईटेलले बताउनु भयो । पहिरोका कारण जिल्लाका दुई ओटा विद्यालयमा क्षति पुगेको छ । पहिरोले सुनकोशी गाउँपालिका-५ डाडाँखर्कस्थित चौतारा माध्यमिक विद्यालयमा क्षति पुर्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घबहादुर खत्रीले बताउनु भयो । पहिरोले मानेभञ्याङ गाउँपालिका-४ विद्याकालिका माध्यमिक विद्यालय समेतमा क्षति पुर्याएको छ । बाढीपहिरोबाट प्रभावितहरूको उद्दार गर्ने, जोखिममा भएकाहरूलाई समयमा स्थानान्तरण गर्ने र सडकमा अवरोध हटाउने लगायतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

