ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँकी २५ वर्षीया वसन्ती रोकाया सुत्केरी भएको तीन साता वितिसक्दा पनि गोठमै बस्न बाध्य हुनु भएको छ ।
घरमा बस्दा देवता रिसाउने भन्दै घरपरिवारले गोठमा राखेपछि चिसो जमिनको भुईँमा रात कटाउन बाध्य हुनु परेको गुनासो गर्नु भएको हो । आफुसँग नत ओढ्ने नत ओछ्याउने कपडा नै छ भन्दै सुत्केरी रोकायाले पीडा पोख्नु भयो ।
गोठमा चिसोबाट बच्चा र आफू कसरी बच्ने भन्ने चिन्ताले सताएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो ‘चिसोले सन्चो नै छैन । अँध्यारोमा गाई, गोरुसँगै जोखिम मोल्दै बसेकी छु र सँगै काखमा नवजात शिशु पनि छ ।’
दुई वर्षअघि सर्केगाड गाउँपालिका–३, उनापानी गाउँकी दुधकली सार्की सुत्केरी भएर गोठमै बस्नु परेकोे र चिसोबाट बचाउन नसकेर नवजात शिशुको ज्यान गुमाउनु परेको थियो । न्यानो कपडा नभएर बन्द गोठमा जन्मिएको पाँच दिनमै शिशुको मृत्यु भएको थियो । उक्त घटना सम्झेर त्यस्तै समस्या आफूलाई पनि नहोला भन्न नसकिने गुनासो गर्नु भयो ।
सानै उमेरमा विवाह भयो । सानै उमेरमा बच्चा भयो । कहिले ढाड दुख्छ, कहिले तल्लो पेट दुख्छ । सानै उमेरमा विवाह गरेर समस्या भएको उहाँले बताउनु भयो ।
जिल्लाका अधिकांश गाउँहरूमा सुत्केरी हुँदा गोठमा राख्ने प्रचलन अझैसम्म हटेको छैन । यति मात्रै हैन सुत्केरी भएर गोरु बस्ने गोठमा समस्या भोग्दै आउनु भएकी सुत्केरी आर्थिक अवस्था कमजोर भएकोले पोसिलो खानेकुरा समेत खान नपाएको पीडा छ । छाउपडी प्रथा उन्मूलन र सुत्केरीको पोषणका क्षेत्रमा तीनै तहका सरकार सहित थुप्रै गैरसरकारी संस्थाहरू समेत यस क्षेत्रमा कार्यरत छन् । तर न्युनीकरणमा भएको छैन ।
गोठमै सुत्केरी भएकी रोकाया अझै एक साता सम्म गोठमा बस्नु पर्ने बाध्यता रहेकाे दुखेसो गर्नुभयो ।
