निरन्तरको वर्षापछि आएको बाढीपहिरोका कारण मकालु गाउँपालिकामा २४ घरपरिवार विस्थापित हुनु परेको छ ।
मकालु गाउँपालिका-२ सागसेवा र मुलगाउँमा बाढी र पहिरोले २४ घरपरिवार विस्थापित भएका हुन् । अविरल बर्षासँगै आएको बाढी र पहिरोले २४ घरपरिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो ।
पहिरोको उच्च जोखिममा परेका २४ परिवार अहिले छिमेकी र आफन्तको घरमा सुरक्षित राखिएको प्रजिअ खड्काले बताउनु भयो । बाढीपहिरोबाट के कति क्षति भयो भन्ने विवरण संकलनको काम भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
एकसातायताको निरन्तर वर्षाले मकालु गाउँपालिका र भोटखोला गाउँपालिका जोड्ने पक्की पुल बगाएको छ ।
कटानले अरूणको पुल जोखिम जोखिममा
उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङ्का सडकमा पर्ने अरुण नदीको पक्की पुल बाढीले कटान गरेपछि जोखिममा परेको छ । खाँदबारी किमाथाङ्का सडकमा पर्ने मकालु गाउँपालिका–५ र ३ जोड्ने अरुण नदीको पक्की पुल उच्च जोखिममा परेको हो । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकमा पर्ने अरुण नदीको पक्की पुल बाढीले कटान गरेपछि जोखिममा परेको उत्तर–दक्षिण कोशी सडक आयोजनाक प्रमुख सविन कोइरालाले बताउनु भयो ।
नदीमा आएको बाढीको पानीले पुल क्षेत्र आसपास कटान गर्दा जोेखिममा परेको हो । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्राइभर्सन टनेलबाट निस्कने छड्के पानीको कटान र पानीको सहत बढेपछि अरुण नदीको पक्की पुल जोखिममा परेको आयोजनाका प्रमुख कोइरालाले बताउनु भयो ।
अरुण तेस्रोकोे ड्राइभर्सन टनेलबाट निस्कने पानी पुलको जगतर्फ गएको कारण कटान हुनका साथै पुल जोखिममा परेको कोइरालाको भनाइ छ । बाढीले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका सडकमा पर्ने मकालु गाउँपलिका–३ मा रहेको एकुवा खोलामा रहेको मोटरेबल पुल पहिरोले लगेको सडक आयोजनाका प्रमुख कोइरालाले बताउनु भयो ।
अति दुर्गममा रहेकाले वर्षातमा बढी पानी पर्ने र बाढी पहिरो जाने भएकाले धेरै समस्या छ । भारी वर्षाका कारण कमजोर भूगोल हुँदा बढी क्षति बेर्होर्नु परेको उहाँको भनाइ छ । २०७९ सालमा निर्माण सम्पन्न भएको २० मिटर लामो पुल पहिरोले लगेको हो । करिब ४ करोडको लागतमा निर्माण गरिएको पुलमा क्षति पुर्याएपछि सडक समेत अवरुद्ध भएको छ ।
पुलमा क्षति पुगेपछि जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला जाने सडक अवरुद्ध भएको छ । पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । जिल्लामा बाढी पहिरोका कारण करोडौको भौतिक संरचनामा क्षति भएको छ ।


