कोशी प्रदेशमा मनसुन सक्रिय भएसँगै प्राकृति विपद्का घटना बढेका छन् ।
गएका वर्षहरूको तुलनामा कोशी प्रदेशमा १० जुन अर्थात् ०८१ जेठ २८ गतेदेखि मनसुन सक्रिय भएको छ । गएका वर्षहरूमा कोशी प्रदेशमा जुन १३ देखि मनुसन सक्रिय हुने गरेकोमा यस जुन वर्ष १० मा मनसुन सक्रिय भएपश्चात निरन्तरको वर्षाले जिल्लामा ९० घरपरिवार विस्थापित र विद्यालय बन्द भएको छ ।
अविरल वर्षाका कारण जिल्लाको सुदुर पूर्वी क्षेत्र याङवरक गाउँपालिकामा ०८१ असार २ गते आएको बाढीपहिरोले ९० घरपरिवार विस्थापित भएका छन् । गाउँपालिकाको-१ च्याङथापु, २ फलैचा, ३ ओयामका ९० घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
ओयामदेखि फलैचाहुँदै च्याङथापु जोड्ने मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीपहिरोको कारण पक्की पुल चार ओटा, कल्भट दुई ओटा र होम पाइपामा क्षति भएको छ ।
सानाठूला ढिस्को झरेकोले खास प्रभावित क्षेत्रसम्म उद्दारका लागि पुग्न नसकिएको प्रहरीले जनाएको छ । बाढीपहिरो पीडितका प्राथमिक आवश्यता समेत पूर्ति हुन नसकेको याङवरक गाउँपालिका ३ का वडाध्यक्ष विमल राईले बताउनु भयो ।
विद्युत अवरुद्ध हुदाँ चोत्रोक, फाक्लुङ र ढुङ्गे बस्तीका स्थानीय बिजुली वत्तिविहीन भएका छन् । प्रभावित तीन ओटा वडाका विभिन्न वस्तीमा पिउने पानीको समस्या भएको वडाअध्यक्ष राईको भनाइ छ ।
पहिरो प्रभावित क्षेत्रमा अत्यावश्यक औषधी, उपचार, खाद्यान्नलगायतका ढुवानी लैजानका लागि समस्या भएपछि पहिरो प्रभावित थप पीडामा परेका छन् ।
बाढीपहिरो गएको हप्तादिनपछि जिल्ला विपद् व्यवस्थापन समिति बाढीपहिरो प्रभावित क्षेत्र अवालोकन गरी फर्किएको छ । तर समितिबाट तत्काल पुर्याइनुपर्ने राहत भने पुर्याइएको छैन । समितिका फोकल पर्सन जीवन अधिकारीले असार ७ गतेबाट चार ओटा स्काभेटरले सडक खोल्ने काम थालेका बताउनु भयो । सकड खुलेपछि मात्र राहत र उद्दारका काम हुने अधिकारीको भनाइ छ ।
बाढीपहिरोको कारण विद्यालय वन्द
बाढीपहिरोको कारण याङवरक गाउँपालिका-३,२ र १ का प्राय सवै विद्यालयहरु वन्द गरिएका छन् । ०८१ असार २ गते आएको बाढिपहिरोले सडक अवरुद्ध भएपछि विद्यालय बन्द गरिएको हो ।
विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न कठिन भएपछि प्रभावित तीन ओटा वडाका विद्यालयहरु बन्द गरिएका हुन् । ०८१ असार २ गतेदेखि साउन ४ गतेसम्म बर्खे विदा लागु हुने गरी विद्यालय वन्द गरिएको याङवरक गाउँपालिकामा-३ ओयामस्थित गुप्तेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज राईले बताउनु भएको छ ।