बुढीनन्दा नगरपालिकाको कोल्टी बजारमा खानेपानीको हाहार भएपछि स्थानीयबासी आन्दोलित भएका छन् । वर्षौदेखि समस्य झेल्दै आएका कोल्टीबासीले एक महिनादेखि धारामा पानी नआएको भन्दै ०८१ जेठ २१ गते रित्ता भाँडाहरु, गाग्री र ड्रम बजाउदै नाराजुलुस सहित नगरपालिका घेराउ गरका छन् । कोल्टी बजार क्षेत्रका नागरिकले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएको कोल्टी बजारमै होटेल व्यवसायी गर्दै आउनुभएका अमर गिरीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘खानेपानी समस्या समाधान गर्न नगरपालिकालाई पटकपटक अनुरोध गरिएको भए पनि सुनवाई हुन सकेको छैन् । गर्मी मौसममा खानेपानी नपाएर तड्पनु पर्ने अवस्था आएको छ ।’
कोल्टी बजार जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र कर्णाली प्रदेशका हुम्ला, मुगु, कालिकोटका केही स्थानीय तहको मुख्य व्यापारिक केन्द्र हो । खानेपानी अभावका कारण कोल्टी बस्न आएका पाहुना समेत नबस्ने भएपछि व्यवसाय समेत धरापमा परेका छन् ।
खानेपानी अभावका कारण कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा समेत समस्य उत्पन्न भएको छ । पानी अभावका कारण स्वास्थ्य केन्द्रमा राम्रोसँग सरसफाई समेत नहुँदा सरुवा रोगले महामारीको रुप लिन सक्ने कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत्त प्रतिक न्यौपानेले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘गर्मी समयमा बिरामीको चाप धेरै छ । दिनमा १ सय ५० बढी बिरामी उपचारका लागि आउने गरेका छन् । फोहोर पानीका कारण झाडापखालाका बिरामी धेरै आउने गरेका छन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खानेपानीको हाहाकार भएको पनि महिना दिन बढी भएको छ । यसरी लामो समयसम्म हाहाकार हुने हो भने महामारी फैलनसक्ने सम्भावना बढेको छ ।’
खानेपानी अभावका कारण खोलाको फोहोर पानी पिउनु पर्ने बाध्यताले महामारी फैलने सम्भावन अत्यधिक रहेको स्थानीयहरुको गुनासो छ । बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहोराले खानेपानीको हाहाकार नभएर अभाव भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘खानेपानी बजारको मागको आधारमा कम छ । व्यवस्थापन नहुँदा अभाव भएको हो । खानेपानी अभावलाई दीर्घकालिन समाधानको लागि नगरपालिकाले पहल गरिहरेको छ । यो समस्या खानेपानीको मुहान सुकेर उत्पन्न भएको हो । नागरिकहरुले पनि कर्तव्य पालना गरेका छैनन् । आफूखुसी खानेपानीका पाइपहरु उखेल्लने र काट्ने गरेका कारण पनि समस्या उत्पन्न भएको छ ।’
कोल्टी बीच बजारका नागरिकले खानेपानीको लाइन काटेर तल्लो बजारलाई नदिएका कारण स्थानीयबासीहरु आन्दोलित हुनुभएको र नगरपालिकाबाट कर्मचारी खटाएर पानीको समान वितरण गर्ने सहमति भएको बुढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शन्तोषकुमार शाहले बताउनु भयो ।
