INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार संरक्षण र सम्बर्धन गर्न आवश्यक छ : मुख्यमन्त्री कडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल  कडेलले मानव अधिकार संरक्षण र सम्बर्धन गर्न आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयको आयोजनामा जेठ १३ गते वीरेन्द्रनगरमा आयोजित राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले बताउनु भएको हो ।

मानव अधिकार आयोगले मानव अधिकार संरक्षण र सम्बर्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । समाजका हरेक पक्ष, क्षेत्र जिम्मेवार र जवाफदेही भएमा मात्र  मानव अधिकार अधिकारको संरक्षणमा टेवा पुग्ने उहाँले जोड दिनुभयो । अधिकार सँगै कर्तव्यको पालना भएमा समुन्नत समाजको निर्माण हुन्छ । सुशासन नै प्रमुख पक्ष रहेको उहाँले जोड दिनु भयो

मानव अधिकारको संरक्षण एवम् सम्बर्धनको लागि संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न विषयगत संवैधानिक आयोगहरू क्रियाशील रहेका छन् । आयोगले सङ्घीयताको मर्म अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रादेशिक कार्यालय स्थापना गरि कार्य गदै आएको साथै वैधानिक परिधिभित्र रहेर आयोगका काम कारबाहीमा प्रदेश सरकार सहयोगी बन्ने प्रतिबद्धता जनाउनु भयो ।

त्यसै गरी कर्णाली प्रदेश सभा सदस्य जानकी सिंहले प्रदेशले निर्माण गर्ने कानुनहरु मानव अधिकार मैत्री हुनु पर्ने बताउनु भयो । सरकारी कार्यालय तथा स्थानीय तहमा मानव अधिकार शाखा स्थापना गरी काम भइरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका मुख्यसचिव चूडामणि पौडेलले बताउनु भयो ।

मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोक नाथ बास्तोलाले कर्णाली प्रदेशमा बाल सुधार गृह र महिला सुरक्षित आवास स्थापनाको अति आवश्यक रहेकोले प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका उपप्रमुख सचिन कुमार बडुवाल, कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख लालमणी आचार्य, नि.प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, महिलाहरुको प्रतिनिधित्व गर्दै ममता नगाल, नागरिक समाजको प्रतिनिधित्व गर्दै श्री पिताम्बर ढकाल, गैससका अध्यक्ष प्रकाश सारु, गैसस कर्णाली प्रदेश अध्यक्ष घनश्याम केसी र उच्च अदालत बार एशोसियसन अध्यक्ष दुर्गा सापकोटा लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, कानुन व्यवसायी, पत्रकार र नागरिक समाजका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण मानव अधिकार अधिकृत मान बहादुर कार्कीले गर्नुभएको थियो ।

Photo20240527Surkhet (3)

Photo20240527Surkhet (4)

Photo20240527Surkhet (1)

 

अन्य

भिडियो