पर्वतका कुश्मा नगरपालिका बाहेक अन्य एक नगरपालिका र पाँच गाउँपालिका सहित ६ स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ ।
गर्मीयाम सुरु भएसँगै जिल्लामा आगलागीका घटना बढ्दो क्रममा रहेका छन् । आगलागीबाट वर्षेनी करोडौं मूल्य बराबरका सम्पत्ति समेत नष्ट हुने गरेको छ भने मानवीय क्षतिसमेत हुने गरेको छ । हावाहुरी चल्ने, आगलागी हुने समय सुरु भएको हुँदा स्थानीय तहमा दमकल नहुँदा कतै आगलागी भएको खण्डमा समयमै नियन्त्रण गर्न नसक्दा थप क्षति हुने गरेको छ ।
डिभिजन वन कार्यालय पर्वतका अनुसार फागुनदेखि वैशाखसम्म जिल्लाको २ हजार हेक्टर जङ्गल आगलागीबाट नष्ट भएको छ भने १० ओटा भन्दा बढी घर गोठ जलेका छन् । फागुन, चैत र वैशाख महिनामा हावाहुरीको मौसम भएकाले आगलागीका घटना बढी हुने गर्दछन् ।
स्थानीय तह सञ्चालन कार्यविधिमा दमकल अनिवार्य हुनुपर्ने प्रावधान रहेपनि पर्वतका फलेवास नगरपालिका, मोदी गाउँपालिका, जलजला गाउँपालिका, महाशिला गाउँपालिका, पैयूँ गाउँपालिका र विहादी गाउँपालिकामा दमकल छैन । जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम विकले आवश्यकता अनुसार स्थानीय तहले दमकल खरिद गर्नुपर्ने बताउनुभयो । ‘सबैभन्दा बढी आवश्यकता फलेवास नगरपालिका र पैयूँ गाउँपालिकामा देखिएको छ ।,’ उहाँले आगामी वर्ष दमकल खरिदका लागि स्थानीय तहलाई आग्रह गरिएको बताउनुभयो ।
जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको पैयूँ गाउँपालिकामा आवश्यक बजेट अभावका कारण दमकल खरिद गर्न समस्या भएको छ । गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले बजेट अभावका कारण दमकल किन्न समस्या भएको बताउँदै दमकलको आवश्यकता महसुस भइरहेकोे बताउनुभयो ।