गर्मीयाम लागेसँगै वीरेन्द्रनगरमा खानेपानीको अभाव भएको छ । प्रयोगमा ल्याइएका मुहानमा पानीको सतह घट्दा उपत्यकामा खानेपानीको सङ्कट चुलिएको हो ।
कतिपय धाराहरूमा हप्तौँ दिनसम्म पनि पानी नआउँदा स्थानीयहरूलाई निकै समस्या भएको छ । पिउने पानी समेत अभाव भएको वीरेन्द्रनगर नगरपालिका–७ की पार्वती पाण्डेले बताउनुभयो ।
‘प्रदेश राजधानीमा त सुविधा हुनुपर्ने हो । पानी ६ दिनमा एक घण्टा आउँछ, त्यो पनि पर्याप्त छैन । उहाँले भन्नुभयो, ‘ प्यास मेट्ने पानी पनि नपाउने स्थिति छ । नुहाउन र कपडा धुन त झन् समस्या छ ।’
राजधानी बनेसँगै वीरेन्द्रनगरको जनघनत्व दिनप्रतिदिन बढ्दो छ । जसका कारण सबै घरहरूमा धारा जडान हुन सकिरहेको छैन । धारा जडान नभएका नागरिकले इनार (कुवा) को पानी प्रयोग गर्छन् । तर, यो पटकको लामो खडेरीका कारण कुवा नै सुक्ने समस्या बढिरहेको स्थानीयहरू बताउँछन् ।
वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानकी बसन्ती थापाको घरमा धारा जडान हुन सकिरहेको छैन । उहाँको भएको कुवामा पानी आउन छाडिसक्यो । ‘अघिल्लो वर्षसम्म त कुवा सुकेन, यो पटक वैशाख पहिलो हप्ता देखिनै कुवा सुक्न थाल्यो’, उहाँले भन्नुभयो, ‘पानी सुक्दा निकै कठिन भयो । जारको पानी ल्याउन पनि सधैं प्रयोग गर्न सकिदैन ।’
वीरेन्द्रनगरको तल्लो भेगहरूमा डीप बोरिङ गर्दा कुवाको पानी समेत सुक्न थालेको स्थानीयको गुनासो छ । सुर्खेत उपत्यकामा खानेपानीको समस्या अहिले मात्र होइन, विगत देखिनै हो । राजधानी बनेसँगै जनघनत्व ह्वात्तै बढ्यो । गणना भएको र बाहिरबाट आएर बसोबास गर्ने सबै नागरिकहरूको सङ्ख्या करिब ३ लाख बढी रहेको छ ।अहिले भइरहेका मुहानको पानी आधा जनसङ्ख्यालाई पनि पुग्दैन ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार ३८ हजार बढी घरधुरी मध्ये अहिलेसम्म २० हजार ३ सय ५० घरधुरीमा धारा जडान छ । करिब ४ हजार २ सय बढी घरधुरीले धाराका लागि आवेदन दिए पनि जडान कार्य हुन सकेको छैन । साढे ८ सय धारा जडान गर्ने सूचीमा रहेका छन् । धारा जडान भएका घरधुरीका लागि मात्रै दैनिक ३ सय ७४ लिटर प्रति सेकेन्ड पानी आवश्यक पर्छ । दैनिक १ सय ५७ लिटर प्रति सेकेन्ड खानेपानी आपूर्ति हुने स्रोतहरूबाट हाल खडेरीका कारण जम्मा ५२ लिटर प्रति सेकेन्ड मात्र खानेपानी आपूर्ति भएका कारण खानेपानीको सङ्कट चुलिएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्मर गौतमले बताउनुभयो । हाल झुप्रा खोला, खरिखोला, खोर्के खोला तथा बुलबुले काठकुवा खोलाबाट पानी आपूर्तिको व्यवस्था मिलाइएको छ । तर, ती मुहानमा लामो खडेरीका कारण पानी घट्दै जाँदा उपत्यकामा पानीको चरम अभाव भएको हो ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाबाट प्रयोगमा ल्याइएका खानेपानीका स्रोतहरू हाल भइरहेको लामो सुक्खा खडेरीका कारण पानी सुकेर खानेपानी वितरण कार्य प्रभावित बनेको छ । उहाँका अनुसार स्रोतबाट उपलब्ध पानीलाई यथोचित व्यवस्थापन गर्दै हाल संस्थाले ६ दिनको फरकमा १ घण्टा वितरण गर्नेगरी सम्पूर्ण एरियाको वितरण तालिका लागु गरेको बताउनुभयो ।
कतिपयको धारामा तालिका अनुसार नै पानी आउँछ भने कतिपयको १० दिनको फरकमा पनि आउँदैन । उपत्यकाको खानेपानी समस्या समाधानको एउटै उपाय–भेरीको पानी वीरेन्द्रनगर ल्याउने नै हो । लामो समयदेखि चर्चामा रहेको बहुचर्चित भेरी लिफ्ट परियोजना अहिलेसम्म अघि बढ्न सकिरहेको छैन ।
तीन दशकपछिको जनसङ्ख्यालाई लक्षित गरी अघि बढाइएको यो परियोजनाको टेन्डर प्रक्रिया पूरा भइ काम अघि बढेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बताउनुभयो ।
विश्व बैंकको सहयोगमा निर्माण गर्न लागिएको भेरी पम्पिङ आयोजना ६ वर्ष पहिलेदेखि नै अध्ययनको काम थालिएको थियो । ०८० जेठ ४ गतेदेखि वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम भइरहेको छ । ०८० असोज १२ गते आयोजना निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो । जसमा सात ओटा टेन्डर परेका थिए । परेका सात ओटा टेन्डरमध्ये पाँच टेन्डर छनोटमा परेका छन् । प्राविधिक छनोटका आधारमा पाँच ओटा टेन्डर छनोट गरिएको र अब ती टेन्डरको आर्थिक प्रस्तावका आधारमा छनोट गरिने आयोजनाले जनाएको छ । त्यसैगरी सर्वे डिजाइनको काम पनि भइरहेको छ । तीन वर्षमा परियोजना सम्पन्न गर्नेगरी काम अघि बढेको जनाइएको छ ।
भेरी पम्पिङ खानेपानी आयोजना निर्माणका लागि कुल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले लगानी गर्ने र बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश , स्थानीय तहको साझेदारीमा लगानी गरिने छ । पहिलो चरणमा संरचना निर्माणका लागि ३ अर्ब २३ करोड रुपियाँ लागत अनुमान छ । आयोजनाका निर्माणका लागि ६ अर्ब रुपियाँ लाग्ने अनुमान छ ।
