INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी दैलेख जिल्ला भगवतीमाइ गाउँपालिका–६  घर भई हाल सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका– ८ बौद्धचोक बस्ने २५ वर्षीया शर्मिला विकलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि वैशाख २६ गते आर्थिक सहयोग गरेको छ ।

पीडित महिलाकी २५ वर्षीय पति राजेन्द्र विकले पटक पटक कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरी घरेलु हिंसा गर्दै आएको पीडित महिलाले जानकारी दिनुभयो । पतिले ०७९ पुस ११ गते कुटपिट गर्दै घरबाट निकाला गरेपछि जिल्ला अदालत दैलेखमा घरेलु हिंसा र अंश सहित खाना खर्च मुद्दा दायर गरेकोमा उक्त फैसला चित्त नबुझेपछि पुनरावेदनका लागि उच्च अदालत,सुर्खेतमा मुद्दा दायर भएकोले अदालत आवतजावतमा समस्या भएको उहाँले बताउनु भयो ।

मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या र कानुनी प्रकृयामा जानका लागि  कानुनी शुल्कमा समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा वैशाख ४ गते निवेदन दिनुभएको थियो ।

पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको ०८१ वैशाख १८ गते बसेको बैठकको निर्णय अनुसार नगद १० हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रकृयामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

 

Photo20240508

 

अन्य

भिडियो