गाउँँबस्ती निकट रहेका जङ्गल र खेतहरूमा आगजनी र उद्योग कलकारखानाबाट निस्कने रसायनिक धुवाँ परिवर्तन भएको कारण जिल्लाका सर्वसाधरणको जनजीवन कष्टकर बन्दै गएको छ ।
जिल्लामा रहेका सुनवल चिनी मिल, इन्दिरा चिनी मिल, सरावलस्थित स्टिल उद्योग, बुटवल सिमेन्ट, सर्वोत्तम सिमेन्ट, चितवन सिमेन्ट, रामग्रामको सिद्धार्थ हुलास उद्योग लगायत यस जिल्लामा रहेका साना ठूला गरी २ सयभन्दा बढी उद्योग कलकारखानाबाट निरन्तर रूपमा निस्कने धुवाँ र जिल्लाका विभिन्न ठाउँमा भइरहेका आगलागी तथा चुरे क्षेत्रका जङ्गलमा आगो फैलिँदा त्यहाँबाट निस्कने हावाका कारण प्रदुषणको स्थिति बढेसँगै हावाको गुणस्तरमा नकारात्मक असर परेको हो ।
बढ्दै गएको प्रदुषणका कारण जिल्लामा श्वास प्रश्वासमा समस्या देखिएका बिरामीको सङ्ख्यामा बढोत्तरी भएको छ भने जिल्लाका प्रमुख अस्पतालहरू यीनै बिरामीले भरिएका छन् । जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल, चिसापानी अस्पताल, चौपत्ता स्थित शहिद स्मृति सामुदायिक अस्पताल लगायत निजी अस्पतालमा पनि बिरामीको सङ्ख्या बढिरहेको जिल्ला अस्पतालका निमित्त प्रमुख किरण पाण्डेले बताउनु भयो ।
जिल्लामा अधिकतम तापक्रम ४१ डिग्री पुगेको छ भने वातावरण प्रदुषणको लेभल पनि १ सय ५५ पुगेको छ । लामो समयसम्म वर्षा नहुनु, तापक्रम अत्यधिक हुनु, कलकारखानाले रसायनजन्य सामग्रीलाई व्यवस्थित नगरी हावामा मिसाउनु र वातावरण संरक्षणमा सरोकारवालाहरूले चासो नदेखाउनुले यो समस्या दिन प्रतिदिन बढिरहेको छ ।
स्वच्छ वातावरणको हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक तथा वातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षतिवापत क्षतिपूर्ति पाउने हक हुने व्यवस्था धारा ३० मा गरिएको छ । वातावरण विनाश वा ह्रास वा प्रदुषणबाट कसैलाई हानि पुग्न गएमा प्रदुषकले क्षति वापत क्षतिपुर्ति तिर्नुपर्ने व्यवस्थाले प्रदुषणकर्तालाई जवाफदेही तुल्याई स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई मर्यादित तुल्याइएको छ । तर वातावरण प्रदुषणका कारण जिल्लाका सर्वसाधरणको जनजीवन कष्टकर बन्दै गएको छ ।