शारदा नगरपालिका–१ शान्तिनगरका दिर्घ वादी उमेरले ४९ वर्ष पुग्नु भयो । उहाँको शारीरिक अवस्था कमजोर छ । तर पनि उहाँ विहानैदेखि बेलुकीसम्म घर नजिकैको शारदा नदीको किनारमा बालुवा चाल्न पुग्नुहुन्छ । चिसोले हातखुट्टा कठ्याङ्ग्रिने र गर्मीमा हात पोल्ने गरेपनि बालुवा तथा गिट्टी सङ्कलन गर्नु उहाँको दिनचर्या नै बनेको छ । अशिक्षा र बेरोजगारको समस्याले विगतदेखि नै थलिँदै आएका उहाँको बालुवा सङ्कलन गर्न बाध्य हुनुहुन्छ । सङ्कलन गरेको बालुवा बिक्री गरेर जेनतेन गरी उहाँले परिवारको खर्च टार्दै आउनुभएको छ ।
घरको आर्थिक अवस्था कमजोर तथा अन्य कुनै व्यवसाय नभएपछि शारदा नगरपालिका–१ शान्तिनगरकै ३३ वर्षीया निर्मला नेपालीको दिनचर्या दिर्घको भन्दा फरक छैन । विहानैदेखि बेलुकीसम्म शारदा नदीको किनारमा खोलाजन्य बस्तु बालुवा र गिट्टी सङ्कलन गर्नु पर्ने बाध्यता छ । उखरमाउलो गर्मीमा नदीको बगरबाट बालुवा निकाल्दा उहाँका औलाका छाला मात्र उप्किएका छैनन्, औंला समेत नङविहीन भएका छन् । हातमा ठेला उठेका छन् । तर उहाँले काम छाड्नु भएको छैन् । बालुवा नचाले तथा गिटी सङ्कलन नगरे दुई छाक जोहो गर्नै हम्मे पर्ने भएको उहाँलाई बालुवा चाल्नुपर्ने बाध्यता छ ।
यी दुई मात्र नभइ अशिक्षा तथा बेरोजगारीको समस्याले पीडित हुँदै आएका शान्तिनगर र आसपासका वादी समुदाय जीविकोपार्जनका लागि शारदा नदी तथा आसपासका खहरेखोलाबाट बालुवा, गिट्टी सङ्कलनको भर पर्दै आएका छन् । सङ्कलन गरेको गिट्टी बालुवा बिक्री गरेर नै उनीहरुले जेनतेन गुजारा चलाउँदै आएका छन् ।
सरकारले आर्थिक अवस्था कमजोर भएकालाई प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम लागू गरी रोजगारको व्यवस्था गरेपनि टाठाबाठामा मात्र सीमित रहेकाले अहिलेसम्म रोजगारीको अवसर पाउन नसकेका वादी समुदाय गुजारा चलाउनका लागि सधैँ बालुवाको भर पर्न बाध्य भएको वादी समुदायको श्रमिकको गुनासो छ ।
बास बस्ने बाहेक खेतीपातीको लागि जग्गा नभएको, सरकारले कुनै रोजगारीको व्यवस्था नगरेकाले बस्ती नजिकै रहेको शारदा नदी र आसपासका खहरेको बालुवा चाल्नु परेको संगिता नेपालीले बताउनुभयो । सम्बन्धित निकायले आयआर्जनको लागि केही व्यवस्था गरेको भए बालुवा चाल्न नपर्ने उहाँको भनाइ छ ।
‘मादल बनाउने र माछा मार्ने पेसा पूर्ण रुपमा सङ्कटमा परेको छ, दैनिक श्रम गरी मजदुरी पनि सजिलै पाइदैन, परिवार पाल्नका लागि अन्य केही काम छैन, बालुवा नचाली अरु के गर्नु’ उहाँले भन्नुभयो ‘दैनिक नदीको किनारमा झन्डै आठ घन्टा समय खर्च गरेर सङ्कलन गरेको बालुवा तथा गिट्टीबाट पाँच सय देखि ६ सय रुपियाँ कमाइ हुन्छ, त्यसबाटै जेनतेन गुजारा चलेको छ, नजिकै शारदा नदी नभएको भए भोकै मर्नु पर्ने अवस्था आउँथ्यो ।’
सङ्कलन गरेको बालुवा गिट्टी समेत समयमा बिक्री नहुने र उचित मूल्य नपाउदा समस्या हुने गरेको उहाँको भनाइ छ । एक ट्याक्टर बालुवा सङ्कलन गर्न तीन/चार जनालाई पाँच दिन भन्दा बढी लाग्ने गरेको र अहिले एक ट्याक्टर बालुवा तीन हजार रुपियाँमा मात्र बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
‘वादी समुदायका पुरुष श्रीनगरबजार आसपासमा गएर मजदुरी गर्छन्, उनीहरुले कमाई गरेको रकम बेलुकी आफैँले मदिरा सेवनमा सक्छन्, आयआर्जनको केही माध्यम नभएपछि छोराछोरीको लालनपालन, विहान बेलुकी दुई छाक खानाको लागि विकल्पमा बालुवा तथा गिट्टी रोज्नु परेको हो, शारीरिक कष्टका साथ खोलाको बालुवा निकालेर बिक्री गर्नु हाम्रो रहर होइन’ उहाँले थप्नुभयो। शारदा नदी तथा आसपासका खोलाबाट शारीरिक कष्टको प्रवाह नगरी सङ्कलन गरेको बालुवा तथा गिट्टी बिक्री गरेको सीमित रकमले परिवारको दुई छाक टार्न मुस्किल भएको स्थानीय भुवन वादीले बताउनुभयो । दैनिक उपभोग्य बस्तुको मुल्य बढ्दै गएको तर एक ट्याक्टर बालुवा तथा गिट्टीको मुल्य जस्ताको तस्तै रहेको र त्यसमा पनि ठेकेदारलाई कर तिर्नु पर्दा सधैँ आँधा पेट खाएर बस्नुपर्ने अवस्था रहेको उहाँको गुनासो छ ।
‘आर्थिक अवस्था कमजोर भएकाले कुनै आयमुलक पेसामा संलग्न हुन सकिएको छैन्, न त कतै रोजगारी पाइन्छ, न कसैले काममा लगाउँछन्, जहाँ पनि आफ्नै मान्छे मात्र भन्छन्’ उहाँले थप्नुभयो । वादी समुदायको जीवनस्तर उकास्न सम्बन्धित निकायले सीपमुलक तथा आयमुलक कार्यक्रम अगाडि बढाएर पेसामा संलग्न गराउनुपर्ने उनीहरुको माग छ ।
