इस्मा गाउँपालिकाका आगलागी पीडितको अवस्थाका विषयमा इन्सेकले तयार गरेको प्रारम्भिक स्थलगत अध्ययन प्रतिवेदन ०८१ वैशाख १८ गते सार्वजनिक गरेको छ ।
इन्सेक प्रतिनिधि, नेपाल टलिभिजनका संवाददाता अनिल खत्री, रेसुङ्गा सूचना केन्द्रका अध्यक्ष हुमाकान्त पोख्रेलसहितको टोलीले इस्मा गाउँपालिका-२ र ४ मा ०८१ वैशाख ८ गते जङ्गलको आगो एक्कासी गाउँ पसेपछि भएको क्षति र आर्थिक सामाजिक एवम् वातावरणीय प्रभावको बारेमा अध्ययन प्रतिवेदन तयार गरेको हो ।
आगलागीबाट २६ घर र ४९ गोठसहित ७५ पशुचौपाया जलेर मरेका थिए । डढेलोबाट दुई जना मानिस र सात पशुचौपाया जलेर घाइते भएका छन् । अनुगमन टोलीले आगलागीपछि उद्धार, राहत, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि लगायतका क्षेत्रमा परेको प्रभावको अध्ययनसहित विद्यालयलाई सेल्टर बनाउन नहुने, पीडितहरूलाई तत्काल मनोसामाजिक परामर्श दिनुपर्ने, खानेपानीको मुहान संरक्षण, पखला, आँखा पाक्ने र भाइरल ज्वरो फैलन सक्ने भएकाले सर्तकता अपनाउन आवश्यक रहेको निष्कर्श निकालेको थियो । त्यस्तै घर सम्झौताका विधिमा छिटो आवास निर्माण गर्नुपर्ने, सरकार तथा सरकारका निकायले बिपद् न्यूनीकरण र बिपद् पुर्व तयारी गरिरहनुपर्ने टोलीले प्रतिवेदनमा सुझाव पेश गरेको छ ।
आगो नियन्त्रणमा आएपछि ०८१ वैशाख ८ गते प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मासहितको सुरक्षा निकाय, इस्मा गाउँपालिका र स्थानीयले पीडित परिवारलाई पायक पर्ने घरहरूमा आश्रयको व्यावस्था गरेको पाइएको छ । घटनास्थलमा तत्काल गाउँपालिकाको तर्फबाट खाद्यान्य र रेडक्रसको तर्फबाट टेण्ट, कम्बल र भाँडा सेट वितरण गरिएको छ । आगलागी भएका बस्तीमा खानेपानी र विद्युत थिएन । गाउँपालिकाका प्राविधिक टोलीद्वारा खानेपानी मर्मत तथा सञ्चालन, विद्युत प्राधिकरणद्वारा विद्युत लाइन सुचारु गर्ने, स्थानीय र सुरक्षाकर्मीहरूद्वारा मरेका पशुहरूको व्यावस्थापनको काम गरेको अनुगमनको क्रममा पाइएको अनुगमन समिति सदस्य अनिल खत्रीले बताउनु भयो ।
जिल्ला बिपद् व्यावस्थापन समितिबाट वैशाख १० गते जिल्लाका सबै आगलागी पीडितलाई नगद २० हजार रुपियाँ प्रदान गरिएको छ । सङ्घीय सांसद गोकर्ण विष्टको सहयोगमा चामल, बलाङकेट, दाल, तेल नुन लगायत दैनिक उपभोग्य सामग्री र पकाउने भाँडाहरू सहयोग प्रदान गरिएको छ । छिमेकी स्थानीय तहको तर्फबाट रेसुङ्गा नगरपालिकाले २ लाख रुपियाँ र नेपाली कांग्रेसले २ लाख रुपियाँ सहयोग गरेका छन् । आगलागीपछि रोटरी क्लव अफ रेसुङ्गाले गाउँपालिकाको खातामा नगद ६१ हजार ५ सय र प्रत्येक पीडित परिवारलाई खाद्यान्य र भान्सामा आवश्यक सामग्रीको सेट प्रदान गरेको छ ।
फेन्सी व्यावसायी सङ्घ, निजामति कर्मचारी सङ्गठन, हस्तिचौर काठमाडौँ ट्रष्ट, गुल्मी उद्योग बाणिज्य सङ्घ, इस्माली समाज रुपन्देही लगायतका सङ्घसंस्थाले राहत वितरण गरेर सहयोग गरेका छन् । नगद गाउँपालिकाको खातामा र जिन्सी सामग्री फिल्डमै प्रदान गर्ने गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पाइपसहित व्यक्तिगत रूपमा नगद तथा जिन्सी सहयोग गर्नेहरूको सङ्ख्या पनि ठूलो रहेको छ । गाउँमा आगलागीबाट हरियो तथा सुकेको घाँस नष्ट भएपछि बाँचेका पशुचौपायको बिचिल्ली देखिएको छ ।
घाइते पशुहरूको उपचार र खानाको लागि पनि विभिन्न व्यक्तिहरूले घाँस लिएर आगलागी प्रभावित क्षेत्रमा पुगेको पाइएको अनुगमन समिति सदस्य हुमाकान्त पोख्रेलले बताउनु भयो । विद्यालयहरू अहिले सञ्चालनमा आएका छन् । किताब, कापी र पोशाक जलेका विद्यार्थीहरूलाई पनि विभिन्न संस्थाले सहयोग गरेका छन् । गाउँपालिकाले आगलागी स्थलमा जनशक्ति राखेर निःशुल्क रूपमा प्रभावित विद्यार्थीको पोशाक निःशुल्क सिलाईको व्यावस्था गरेको छ । टोलीले पीडित परिवार, विद्यार्थी, विद्यालयका शिक्षक, कृषक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र बिपद् व्यावस्थापन समितिका पदाधिकारीहरूसँग स्थलगत छलफल तथा भेटघाट गरेको थियो ।


