इन्सेकका महासचिव डाक्टर रगुनाथ अधिकारीको नेतृत्वको पर्यवेक्षण टोलीले बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा हुनगइरहेको उपनिर्वाचनको पूर्व अवस्थाका बारेमा ०८१ वैशाख १४ गते सरोकारवाला पक्षहरुसँग भेटघाट गरी छलफल गरेको छ ।

इन्सेकका महासचिव अधिकारी नेतृत्वको अनुगमन तथा पर्यवेक्षण टोलीले जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछाने, प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेल, जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी भरत शाह र शसस्त्र प्रहरी वलका डिएसपी जनकराज पन्तसँग भेटघाट गरी उपनिर्वाचन पूर्वको तयारीको अवस्था, निर्वाचन आचारसंहिताको पालनाको अवस्था, शान्तिसुरक्षा र जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गरी सूचना संकलन गरेको हो ।
इन्सेकका महासचिव अधिकारीले निर्वाचनको स्वच्छता र निश्पक्षता कायम हुनु पर्ने, राज्यशक्तिको दुरूपयोग हुन नदिन सम्बन्धीत निकायहरु संवेदशिल हुन पर्ने र निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको भन्ने सूचनाहरु तथा गुनासोहरु आएकाले यस तर्फ सरोकारवाला पक्षहरु बढि जिम्मेवार र गम्भिर हुनु पर्ने घेटघाटका क्रममा बताउनु भयो ।

छलफलमा बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले दल तथा उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पटकपटक ध्यानाकर्षण गराइएको बताउनु भयो । आचारसंहिता उल्लङ्घन भएको बारेमा कुनै उजुरी नआए पनि आफूहरूले अनुगमन समिति मार्फत र सुरक्षा निकायमार्फत आचारसंहिताको पालना गराउन ध्यानाकर्षण गराइएको उहाँले बताउनु भयो । निर्वाचनको स्वच्छता र निश्पक्षताको सबैले सम्मान गनु पर्ने भन्दै उहाँले वैशाख १२ गते रातिदेखि भएको मौन अवधिमा विशेष चनाखो रहनु पर्ने बताउनु भयो । मौन अवधिमा सुरक्षा निकायलाई बढि सचेत हुन निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले प्रदेश सभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनलाई निश्पक्ष, भयरहीत बनाउन निर्वाचन आचारसंहिताको पालनामा ध्यानाकर्षण गराइएको बताउनु भयो । निर्वाचनको क्रममा मतदाता, उम्मेदवार र कर्मचारीहरूको सुरक्षामा कुनै समस्या नआउने गरी सुरक्षा प्रवन्ध गरिएको समेत प्रमुख जिल्ला अधिकारी कुइकेलले बताउनु भयो ।

इन्सेकका महासचिव अधिकारीले नेत्तुत्व गर्नुभएको निर्वाचन पर्यवेक्षण टोलीमा इन्सेकका सदस्य नरनाथ लुइरेल, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशी र इन्सेक जिल्ला प्रतिनिधि सत्यराज सिंहको सहभागिता रहेको छ । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका मानव अधिकार अधिकृत गणेश जोशी पनि भेटघाट कार्यकंममा सहभागि हुनुभएको थियो ।
पर्यवेक्षण टोलीले निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछिको अवस्थाको अनुगमन तथा पर्यवेक्षण गरी प्राप्त तथ्यका आधारमा प्रतिवेदन तयार गरी निर्वाचन कार्यालयलाई बुझाउने छ । इन्सेकबाट २५ जनाले उपनिर्वाचनको पर्यवेक्षण गरिरहेनु भएको छ ।
