स्वास्थ्यको क्षेत्रमा नवजात शिशु र आमाको जीवन जोखिमबाट जोगाउनका लागि शून्य होमडेलिभरी अभियान मुलुकले थालेको भए पनि म्याग्दीमा भने अहिले पनि त्यो लक्ष्य पुरा हुने सम्भावना देखिएको छैन । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको वैशाख सम्ममा म्याग्दी जिल्ला भित्र घरमै सुत्केरी हुनेको संख्या २५ पुगीसकेको छ ।
६ ओटा स्थानीय तह रहेको म्याग्दी जिल्लामा अन्नपुर्ण गाउँपालिका बाहेक सबै स्थानीय तहमा घरमा सुत्केरी भएको तथ्याङ्कले देखाएको छ । रघुगंगा गाउँपालिकामा सात जना महिलाहरु घरमै सुत्केरी भएका छन् । त्यस्तै धवलागिरी गाउँपालिकामा दुई जना, मालिका गाउँपालिकामा १० जना, मंगला गाउँपालिकामा पाँच जना र बेनी नगरपालिकामा एक जना महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयका गणेश सुवेदीले जानकारी दिनुभयो ।
मालिका गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीका अनुसार गाउँपालिकाको विभिन्न क्षेत्रमा घरमै सुत्केरी भएका छन् । गाउँपालिकाको निस्कोटमा दुई जना, ओखरबोटमा चार जना, डाँडागाउँमा तीन जना र बिममा एक जना घरमै सुत्केरी भएका छन् । सात ओटा वडा रहेको मालिका गाउँपालिकामा चार ओटा बर्थिङ सेन्टर रहेको र बर्थिङ सेन्टर नभएको वडाहरुमा घरमै सुत्केरी हुने गरेको कार्कीको भनाई छ ।
त्यस्तै रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीका अनुसार गाउँपालिकाको वडा नम्बर ६ पाखापानी र ७ चिमखोलामा होमडेलिभरी भएको छ । बच्चा जन्माउनका लागि स्वास्थ्य संस्थामै जान पर्छ भन्ने सन्देश दिनका लागि चेतनामुलक नाटक प्रदर्शन समेत गरेको भए पनि त्यो क्षेत्रबाट शून्य होमडेलिभरी बनाउन निकै कठिन भएको उहाँले बताउनुभयो ।
घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैलाई जोखिम हुने भएकोले वर्थिङ सेन्टर वा सुविधा सम्पन्न अस्पतालमै पुगेर बच्चा जन्माउनु पर्ने भए पनि अहिले सम्म पनि त्यसलाई शून्य बनाउ नसक्नु चुनौती भएको शाहीको भनाई छ । चेतनामुलक कार्यक्रम गर्नुका साथै सडक नाटक प्रदर्शन गर्दा पनि उहाँहरुलाई स्वास्थ्य संस्थाको पहुँच सम्म पुर्याउन नसकिएको उहाँले बताउनुभयो ।
बेनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीका अनुसार गत साउनमा बेनी नगरपालिका–१ रत्नेचौरकी स्वास्थ्य स्वयंसेवीकाले तथ्याङ्क इन्ट्री गर्ने समयमा भएको गल्तीले गर्दा होमडेलिभरी देखिएको भए पनि नगरपालिका भित्रै बेनी अस्पताल भएको कारणले गर्दा डेलिभरी हुनका लागि सबैजसो अस्पतालमै आउने हुँदा नगरपालिकामा चालु वर्षमा त्यस्तो नदेखिएको उहाँको भनाई छ ।