INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा वडा कार्यालयको सूचना केन्द्र भवनमा तोडफोड

सिमकोट गाउँपालिका–५ को तल्लो गाउँमा निर्माण गरिएको सूचना केन्द्र भवनमा अज्ञात पक्षद्वारा तोडफोड भएको छ । वैशाख ७ गते देखि नियमित रुपमा सो भवन अज्ञात पक्षले तोडफोड गर्दै आएको वडा अध्यक्ष चिनबहादुर रावतले जानकारी दिनुभयो ।

आर्थिक वर्ष ०७९/०८० मा निर्माण भएको सूचना केन्द्रको तीनकोठे पक्की भवनको झ्याल, ढोका र झ्यालमा लगाइएको सिसा समेत फुटाएर क्षति गरेको वडा अध्यक्ष रावतले बताउनुभयो । सघन सहरी विकास कार्यालय, जुम्लाले २०७८ सालदेखि सूचना केन्द्र भवनको निर्माण कार्य सुरु गरेको थियो ।

कार्यालयका सब इन्जिनियर विमल रावतले भवन अपूर्ण रहेका कारण त्यसलाई पूर्ण बनाउन निर्माण कम्पनीलाई ताकेता गरिएको र बाँकी भुक्तानी रोकिएको बताउनुभयो । आरसिसि पक्की भवन भए पनि अहिले अज्ञात पक्षले तोडफोड गरेका कारण भवन निर्माण कार्यमा पुनः समस्या देखिएको सब इन्जिनियर रावतको भनाइ छ ।

भवन तोडफोड गरिएका विषयमा वडा अध्यक्षले वैशाख १० गते नै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइ सकेको र तोडफोड गर्ने अज्ञात पक्षको खोजीकार्य भइरहेको इन्स्पेक्टर नेरन्द्रबहादुर चन्दले बताउनु भयाे।

Photo20240424Humla (1)

Photo20240424Humla (2)

Photo20240424Humla (3)

अन्य

भिडियो