पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिकाकी २५ वर्षीया महिलालाई वैशाख ११ गते गिरफ्तार गरेको छ ।
बालकलाई आरोपितले वैशाख ११ गते हत्या गरी शवलाई पलङ्गमा लुकाई राखेकाले कारवाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा वैशाख १२ गते उजुरी दिएको मृतकका बुबाले बताए ।
शवको पोष्टमार्टम लहानस्थित प्रादेशिक अस्पतालमा वैशाख १२ गते गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णुप्रसाद सोतीले जानकारी दिनु भयो ।
डिएसपी सोतीले भन्नु भयो-‘स्थानीयहरूले वैशाख ११ गते आरोपितका छोरालाई बिहानदेखि नै नदेखेको र आरोपित समेत घर छाडी भाग्न खोजेको भन्दै प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालयले आरोपितलाई नियन्त्रणमा लिएको हो ।’
खोजतलास गर्दा बालकको शव पलङ भित्र लुकाई राखेको अवस्थामा भेटाएको र शवमा घाउ चोट समेत देखिएकोले अनुसन्धानका लागि आरोपितलाई गरफ्तार गरेको डिएसपी सोतीले बताउनु भयो ।
आरोपित महिला पतिसँग अलग भई छोरालाई साथमा लिएर बस्दै आइरहेको स्रथानीयले बताएको उल्लेख गर्दै डिएसपी सोतीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।