INSEC Online

📅 २०८३ जेष्ठ २१

नहर भत्किएको तीन वर्षसम्म मर्मत नहुँदा किसान सिँचाइबाट वञ्चित

लगातार दुई वर्षको बाढीपहिरोले खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । ०७८ र ०७९ को असोज–कात्तिकमा अविरल वर्षासँगै आएको बाढीपहिरोले सिँचाइ कुलो (नहर) केही पुरिए । केही बाढीपहिरोले बगाए ।

यहाँको उत्पादनले बाह्रै महिना पुग्दैन । उत्पादनले ६–७ महिना पुग्छ । बाँकी महिना बाहिरबाटै आयात हुने हो । नागरिक अगुवा राजबहादुर महतका अनुसार आयात हुने मार्ग भनेका कर्णाली राजमार्ग हो । गत असोजमा आएको बाढीपहिरोले झन्डै एक महिना कर्णाली राजमार्ग बन्द हुँदा यहाँ नुन, तेल, चामल, दाल, ग्यास, पेट्रोलियम पदार्थको अभाव भएको थियो । यसैमाथि व्यापारीले सामान लुकाएर कृत्रिम अभाव पनि गरे । यसको सबैभन्दा मर्का सर्वसाधारणलाई पर्यो ।

स्थानीयस्तरमै उत्पादन बढाएर आयात घटाउन सकेको खण्डमा खाद्य सुरक्षा हुने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यसमा राज्यले मल, बिउदेखि सिँचाइको राम्रो व्यवस्थापन गर्नुपर्दछ ।’
तीन वर्षअघि अविरल वर्षासँगै आएको बाढीपहिरोले यहाँका नहरमा क्षति पुगेको छ । ‘बाढीपहिरोले भत्काएका नहर मर्मत नहुँदा खेतीयोग्य जमिन बाँझै छन्,’ हिमा गाउँपालिका– १ देवारगाउँका अमरबहादुर शाहीले भन्नुभयो, ‘देवारगाउँ २० हेक्टर खेती योग्य जमिन बाँझै छ । बाढीपहिरोले भत्काएको नहर मर्मत भएको छैन ।’

उहाँका अनुसार समयमा नहर मर्मत नहुँदा यो खेती योग्य जमिनमा धान रोपाइँ भएन । २ हजार ३ सय मिटर नहरमा क्षति पुगेको छ । उहाँले भन्नुभयो, ‘१२ मिटरजति नहरको नाम निसाना छैन । देवारगाउँको खेती योग्य जमिन बड्की, कोइरेली, ओदी, आचार्यलिही, धितालिही, मोफ्ला र देवारगाउँ गरी सात गाउँका झन्डै तीन सय कृषक धान रोप्ने गर्दछन् । यस वर्ष सिँचाइ नहर मर्मत नहुँदा धान रोपाइँ नहुने देखिन्छ । किसानले बेर्ना पनि राखेका छैनन् ।’

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीका अनुसार तीन वर्षअघि लगातार आएको बाढीले सिँचाई नहर क्षतिग्रस्त बनाएको थियो । उहाँले भन्नुभयो ‘केही स्थानीय सरकारबाट गर्न सकिने साना मर्मतका काम गरेर सिचाई सञ्चालनमा ल्याएका छौँ । अझै मर्मतका काम गर्नुपर्ने छ । यसका लागि संघ र प्रदेश सरकारसँग सिचाई नहर मर्मतका लागि पहल गरेका छौँ ।’

Photo20240418Jumla (4)

 

अन्य

भिडियो