कालिमाटी गाउँपालिकाका –६ र ७ काप्रेचौरमा बत्ती बाल्नका लागि विद्युत् प्राधिकरणले ०७५ र ०७७ सालमा झन्डै ६ करोड खर्च गरी विद्युत् लाइन विस्तार गर्यो । तर विद्युत लाइन विस्तार भएको तीन वर्ष वितिसक्दा पनि अहिलेसम्म बत्ती बलेको छैन । लाइन विस्तार हुँदा बत्ती बल्ने आशाले हर्षित स्थानीयबासी ३ वर्षसम्म पनि बिजुली नबलेपछि निराश छन् ।
सब–स्टेसनको अभाव तथा राजनीतिक दबाबमा पूर्वतयारी बिना विद्युत लाइन विस्तारको काम सम्पन्न गरेपनि प्रशारण लाइनको टुङ्गो नलाग्दा काप्रेचौरका स्थानीयले बत्ती बाल्न नपाएका हुन् । बत्ती बाल्न नपाउँदा वडा नं ६ को हात्तीढुंगा र ७ का घुईयाबारी लगायत अन्य गरी दुई वडाका सात सय परिवार प्रभावित भएका छन् । अहिलेपनि स्थानीयहरु रातिको समयमा बत्तीको लागि सौर्य टुकी, मट्टितेलबाट बाल्ने लाल्टिन, टुकीको भर पर्न बाध्य छन् ।
घुइयावारीमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी यामकली बस्नेतले विद्युत् नहुँदा पठनपाठनमा समस्या भएको बताउनुभयो । पोल र तार तानिएको छ, तर विद्युत् जोडिएको छैन्, बत्ती नहुँदा घरमा पनि अबेरसम्म पढ्न पाइदैन्, विद्यालयमा कम्प्युटर विषय छ, तर बत्ती नहुँदा कम्प्युटर चल्दैन्, अभ्यास नहुँदा किताबको ज्ञानले मात्रै सिक्न नसकिदो रहेछ उहाँले भन्नुभयो ।
शिक्षक कुलेन्द्र बिसीले विद्यालयमा सोलार भएपनि एकैपटक कम्प्युटर चलाउन नसकिने बताउनुभयो । विद्यालयमा सोलार छ, तर क्षमताले धान्न सक्दैन्, एकैपटक २/४ ओटा कम्प्युटर चलाउन सकिदैन्, यसले गर्दा विद्यार्थीलाई सिकाउन समेत धौँ हुन्छ, किताबमा पढाएको कुरा उनीहरुले बुझ्दैनन् । अभ्यास नितान्त आवश्यक छ, यसका लागि बिजुली बत्ती छिटो भन्दा छिटो सुचारु हुनुपर्ने उहाँले भन्नुभयो ।
रातिको समयमा कोही बिरामी भएमा समस्या हुने गरेको र शौचालय गर्नका लागि बाहिर निस्कन धेरै गाह्रो हुने कालिमाटी गाउँपालिका–६ हात्तीढुंगाका कर्णबहादुर घर्तीले बताउनुभयो । बत्तीकै समस्याका कारण रातिको समयमा बालबालिकाहरुले चाहना हुँदाहुदै पनि लामो समयसम्म पढन नपाएका उहाँको भनाइ छ । ‘कालिमाटी गाउँपालिका ६ र ७ मा प्रशस्त मात्रामा खेतीयोग्य जग्गा छन्, नजिकै भेरीनदी भएपनि अहिलेसम्म सिँचाइको व्यवस्था छैन, सिँचाइ नभएपछि मोटर तथा पम्पसेट प्रयोग गरेर खेत सिँचाइ गरौ भने बत्ती छैन’ उहाँले भन्नुभयो ।
यस्तै बत्ती नहुँदा कुटानी पिसानी गर्ने मिल सञ्चालनमा पनि समस्या भएको छ । स्थानीयले डिजेलबाट चल्ने मिल जडान गरेको भएपनि खर्च धेरै आउदा समस्या भएको छ । यस्तै इलेक्ट्रिक पसल, वर्कसप, ग्रिल लगाएतका व्यवसाय सञ्चालनमा पनि समस्या भएको छ ।
विद्युत् लाइन विस्तार गरेपनि सब–स्टेसनको अभावमा प्रशारण लाइन जडान गर्न नसक्दा अहिलेसम्म अन्धकारमा बस्नु परेको घुईयाबारीका नारायण सुनारले बताउनुभयो ।
पूर्व तयारी तथा गुरुयोजना विना गरेको विद्युत् लाइन विस्तारले बस्तीबासीको बत्ती बाल्न पाउने सपना अधुरो भएको उहाँको भनाइ छ । ‘योजनाको काम सुरु गर्दा अब छिट्टै बत्ती बाल्न पाइन्छ भन्ने आशा लागेको थियो तर पोल र तारमै सीमित छ, सम्बन्धित निकायसँग बारम्बार कुरा राख्दै आएका छौँ, छिट्टै बत्ती बाल्न पाउने सपना पुरा होला जस्तो लाग्दैन’ उहाँले भन्नुभयो ।
