INSEC Online

📅 २०८३ जेष्ठ २२

पाण्डेयको हत्या गरेको कसुरमा पत्नी सहित पाँच जनालाई कैद सजायको फैसला

नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य ३४ वर्षीय दीपक पाण्डेयलाई गोली प्रहार गरी हत्या गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश प्रकाशचन्द्र अधिकारीको ०८० चैत १४ गतेको इजलासले मृतककी पत्नी २८ वर्षीया महिमा पाण्डेयसहित पाँच जनालाई कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका श्रेस्तेदार सुमन पाण्डेका अनुसार मृतक पाण्डेयकी पत्नी २८ वर्षीया महिमा पाण्डेयलाई सात वर्ष कैद सजाय, कपिलवस्तु नगरपालिका-१, आनन्दबागका ३९ वर्षीय प्रकाश भन्ने ओम प्रकाश यादवलाई कर्तव्य ज्यान मुद्दामा जन्म कैद, ज्यान मार्ने उद्योगमा पाँच वर्षको कैद सजाय र हात हतियारमा साढे तीन वर्ष कैद सजायको फैसला भएको छ ।

कपिलवस्तु नगरपालिका-१, मस्जिद टोलका ३३ वर्षीय साकीर अली पाखियालाई कर्तव्य ज्यानमा जन्म कैदको सजाय, ज्यान मार्ने उद्योगमा पाँच वर्षको कैद सजाय र हात हतियारमा साढे तीन वर्ष कैद सजायको फैसला भएको छ । यसैगरी कपिलवस्तु नगरपालिका-२ का २५ वर्षीय रमजान शाह भन्ने कलाम हुसेनलाई कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजायको फैसला, ज्यान मार्ने उद्योगमा पाँच वर्षको कैद सजाय र हात हतियारमा साढे तीन वर्ष कैद सजाय र कपिलवस्तु नगरपालिका-१, कैलाश टोलका ३५ वर्षीय पूर्णविर पाल्पालीलाई घटनामा प्रयोग गरिएको पेस्तोल लुकाएकोले एक वर्ष तीन महिना कैद सजाय र १० हजार रुपियाँ जरिबाना तोकिएको छ ।

पीडित राहत कोषमा तीन जनालाई जनही ३ हजार ४ सय, महिमा पाण्डेयलाई ३ सय र पूर्णविर पाल्पालीलाई ४ सय क्षतिपुर्ति जम्मा गर्न समेत फैसला भएको श्रेस्तेदार पाण्डे जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा प्रयोग भएको लु १६ प ३४९७ नम्वरको पल्सर मोटरसाईल, पेस्तोल र गोली जफत गर्ने फैसला गरिएको छ ।

पाण्डेयलाई ०७८ जेठ ५ गते राति गोली प्रहार गरिएको थियो । उहाँको उपचारका क्रममा जेठ १० गते काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । २ वर्ष १० महिनापछि अदालतले सो मुद्दाको किनारा लगाएको हो ।

घटनामा प्रहरीले १२ जनाालई गिरफ्तार गरी मुद्दा चलाए पनि सात जनाले भने सफाई पाएका छन् । सफाई पाउनेहरूमा कपिलवस्तु नगरपालिका-१ का मोटे भन्ने ३६ वर्षीय नसरत अली शेष, कपिलवस्तु नगरपालिका-२ का २९ वर्षीय सद्दाम हुसेन खान, सोही स्थनाका २६ वर्षीय प्रविण गुप्ता, कपिलवस्तु नगरपालिका-५ का ३५ वर्षीय सिरिया भन्ने श्रीराम चौधरी, यशोधरा गाउँपालिका-४ का २९ वर्षीय राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय, सोही ठाउँका २३ वर्षीय गोलु भन्ने राधेश्याम चौधरी र सोही स्थानका राम कुमार यादव रहेका छन् ।

प्रहरीले १२ जनामाथि हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र सङ्गठित अपराधसम्बन्धि ०७८ साउन ३ गते प्रहरीले सरकारी वकिल मार्फत अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको ०७८ साउन ७ गतेको इजलासले उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।

अन्य

भिडियो