मलंगवा नगरपालिका–३ माइत भएकी २२ वर्षीया संत कुमारी राउतलाई धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४ का ५५ वर्षीय ससुरा देवेन्द्र भगत, ५० वर्षीया सासू रानी देवी भगत र २५ वर्षीय पति चुमेन्द्र भगतले कुटपिट गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० चैत १६ गते उजुरी दिनु भएको छ ।
दाइजो स्वरुप दुई तोला सुन र १० तोला चाँदी नदिएको भन्दै आरोपितहरूले चैत ८ गते पीडितलाई गालीगलोज गर्नुका साथै कुटपिट समेत गरी शारीरिक तथा मानसिक यातना दिइ घरेलु हिंसा गरेको पीडितका बुबाको आरोप रहेको छ ।
कुटपिटका कारण घाइते भएकी पीडितको उपचार चैत ९ गते देखि १२ गतेसम्म जिल्ला अस्पताल मलंगवामा गरिएको छ । उपचार पश्चात पीडित माइती घर मलंगवा नगरपालिका–३ बस्दै आइरहेको पीडितले बताउनु भयो ।
पीडित र आरोपित पतिबीच ०७८ फागुन १४ गते विवाह भएको थियो । विवाहमा नगद एक लाख रुपियाँ र फर्निचरका सामग्री दिएपनि थप दाइजो बापत सुन र चाँदी नदिएको भन्दै आरोपितहरूले पीडितलाई कुटपिट गर्ने गरेको पीडितका बुबाको आरोप रहेको छ ।
उजुरी पश्चात आरोपितहरूमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीद्वारा धनुषा जिल्ला जनकपुर प्रहरी कार्यालयमा पत्र पठाइएको र आरोपितहरूलाई कानुन बमोजिम कारबाही गर्ने जल्ला प्रहरी कार्यालय मलंगवाका एसपी दयानिधि ज्ञवालीले जानकारी दिनु भयो ।