सुदूरपश्चिम प्रदेशका सिमानाकामा राखिएका हेल्थ डेष्कमा कार्यरत स्वास्थ्यकर्मीहरुले आठ महिनादेखि तलब सुविधा नपाएको गुनासो गर्नुभएको छ ।
स्वास्थ्य निर्देशनालय, दिपायलको आदेशमा कोरोना भाइरसको माहामारीका बेलादेखि नियमित रुपमा काम गर्दै आइरहेको भए पनि पछिल्लो आठ महिनादेखि तलब सुविधा नपाएको त्रिनगर सिमाना, कैलालीमा कार्यरत हेल्थ डेष्कका अहेव गणेश साउदले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो— ‘स्वास्थ्य निर्देशनालयको आदेशमा सुदूरपश्चिम प्रदेशका सीमानाकाहरु त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रोलान लगायतका हेल्थ डेष्कमा कार्यरत २७ जना कर्मचारी कार्यरत रहनुभएको छ । तर, हामीले आठ महिनादेखि विना तलब सविधा काम गरिरहेका छौँ ।’
त्रिनगर सिमानाकामा आफूलगायत १० जना स्वास्थ्यकर्मीहरुले लामो समयदेखि सेवा सुविधा नपाउँदा आर्थिक समस्या हुनका साथै करारमा कार्यरत कर्मचारीहरुको म्याद नथपिएकाले काम गर्न अन्योल भएको उहाँले बताउनु भयो ।
पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेव रामबहादुर धामीले कोरोना माहामारीको बेलामा स्थानीय तहले संघीय सरकारको बजेटबाट तलब खुवाएको भए पनि पछिल्लो समय प्रदेश सरकारले आफ्नो मातहतमा राखेपछि स्वास्थ्यकर्मीहरुको विचल्ली भएको बताउनु भयो ।
उहाँले भन्नु भयो— ‘त्रिनगर नाकामा रहेका १० जना स्वास्थ्यकर्मीहरुलाई कारोना महामारीको बेलामा तलब दिएकै हो । पछिल्लो समयमा प्रदेश सरकारले हेल्थ डेष्कको जिम्मा लिइसकेपछि प्रदेश सरकारले हेर्नु पर्ने हो । तर, अन्तराष्ट्रिय सिमानाकामा स्वास्थ्यको क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई तलब सेवा नदिएर काम गराउनु दुःखद हो । यसमा संघ र प्रदेश सरकारको ध्यान जान जरुरी छ ।’
स्वास्थ्य निर्देशनालय, दिपायलकाका निर्देशक डाम्टर जगदिश जोशीले सिमानाकामा सञ्चालित डेल्थ डेष्कमा काम गर्ने स्वास्थ्य कर्मीहरुको तलब र अन्य सेवासुविधाका लागि सुदूरपश्चिम प्रदेशको अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको बताउनु भयो ।
त्रिनगर सिमानाकामा रहेको हेल्थ डेष्कबाट कोरोना भाइरसलगायत एचआइभी परीक्षण, क्षयरोग, मलेरिया डेङ्गु, कालाजार र स्क्रवटाइफसको नमूना परीक्षणका साथै भारतबाट फर्केका यात्रुहरुको प्राथमिक उपचार र सिमानाकामा अलपत्र परेका बिरामीहरुको उद्धार कार्य हुदै आएको छ ।