छिन्नमस्ता गाउँपालिका–७ बरही विरपुरकी ४० वर्षीया कुलसुम खातुनलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४० वर्षीय तस्लिम मन्सुरी ०८० चैत १४ गते हाजिर भएका छन् ।
सप्तरी जिल्ला अदालतले हाजिर भएका मन्सुरीलाई तत्कालै पुर्पक्षका लागि राजविराज कारगारमा थुनामा पठाएको छ । पीडितलाई २०७८ पुस २३ गते आरोपितसहित सोही ठाउँका ४१ वर्षीय मन्सुफ मन्सुरी, तस्लिमका भाइ ३५ वर्षीय ताहिर मन्सुरी, तस्लिमका छोरा २२ वर्षीय इसराइल मन्सुरी, र २४ वर्षीय इन्ताज मन्सुरीले बोक्सीको दोष लगाई कुटपिट गरेको भन्दै पीडितका पति मुर्तुजा मियाँले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
कुलसुमलाई कपाल समाती लडाइ बोक्सी भन्दै कुटपिट गरेको पीडितले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयले ०८० कात्तिक १६ गते उजुरी दर्ता गर्यो । अन्य आरोपितहरू फरार छन् ।