घरेलु हिंसा पीडित महिलालाई इन्सेकले आर्थिक सहयोग गरेको छ । शुद्धोधन गाउँपालिका-१ घर भई हाल कपिलवस्तु नगरपालिका-११, पचेहरा आफन्तको घरमा आश्रय लिई बस्दै आएकी ३९ वर्षीया गिता केवटलाई ०८० चैत ८ गते १० हजार रुपियाँ सहयोग गरेको छ ।
इन्सेक जिल्ला प्रतिनिधि, मानव अधिकार समूह र जिल्ला कानुनी सहायता समिति कपिलवस्तुको समन्वयमा शुद्धोधन गाउँपालिका–१, सोहसाका पति ४० वर्षीय शिवप्रसाद केवट विरुद्ध फागुन २२ गते जिल्ला अदालतमा घरेलु हिंसा, अंश र राजिनामा लिखत बदरसम्बन्धी मुद्दा दर्ता प्रक्रियाका लागि सहयोग गरेको हो ।
पतिले हिंसा गर्ने, खान लाउन नदिने, बिरामी हुँदा उपचार खर्च नदिने, शारीरिक, मानसिक र आर्थिक हिंसा गर्नुका साथै कुटपिट गरी घरबाट चार नाबालक सहित निकालेको पीडित केवटले बताउनु भयो ।
हाल आफन्तको सहारामा बस्दै आउनुभएकी पीडितले अदालतमा घरेलु हिंसा र अंशसम्बन्धी मुद्दा दर्ता गर्न आर्थिक तथा कानुनी सहयोगका लागि इन्सेकद्वारा गठित मानव अधिकार समूह, कपिलवस्तुमा फागुन १७ गते र इन्सेक कपिलवस्तुलाई फागुन २० गते निवेदन दिनु भएको थियो ।