परशुराम नगरपालिकाको कार्यपालिका बैठक मै निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीलाई ०८० चैत १ गते कुटपिट गर्नेहरुलाई कारबाहीको मागराखि कर्मचारीहरुले नागरपालिका र मातहतका कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक सेवा वाहेक अन्य सेवाहरु बन्द गरिएपछि ०८० चैत ७ गते घटनाको छानबिनका लागि समिति गठन गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गर्नेहरुलाई कारबाही गरिनु पर्ने मागराखि नगरपालिका र मातहतका कार्यालयबाट प्रवाह गरिने सेवाहरु कर्मचारीले बन्द गरेपछि जिल्ला प्रशासन कार्यालय, डडेल्धुरामा बसेको सर्वपक्षीय बैठकले चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, डडेल्धुराका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको संयोजकत्वमा गठन गरिएको समितिमा कार्यालयकै नायब सुब्बा चन्द्रबहादुर रोकाया, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृतलाई सदस्य राखिएको छ ।
छानबिन समितिका संयोजक जोशीका अनुसार कार्यालयको सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीलाई चैत ८ गतेदेखि नै सेवा सुचारु गर्न आग्रह गर्ने, स्थानीय प्रशासनले सुरक्षाको व्यवस्थापन गर्ने, उपरान्त त्यस्ता घटना हुन नदिने र चार सदस्यीय समितिले घटनाको छानबिन गरेर प्रतिवेदन बुझाउने बैठकमा निर्णय गरिएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, सुरक्षा निकायका प्रमुख, परशुराम नगरपालिकाका उपमेयर बिमलाकुमारी बोहरा र विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रशासकीय अधिकृत जोशीलाई कार्यपालिका बैठकमा जनप्रतिनिधिहरुले कुटपिट गरी घाइते बनाएको भन्दै घटनामा संलग्नहरुलाई कारबाहीको मागराखि कर्मचारी संगठनहरुले विज्ञप्ति जारी गरेका थिए ।
कुर्ची प्रहारबाट टाउँकोमा गहिरो चोट लागेर घाइते हुनभएका प्रमुख प्रशासकीय अधिकृत जोशीको चैत १ गते परशुराम अस्पतालमा स्वास्थ्य उपचार गरिएको थियो । उपचारका क्रममा टाउँकोमा तीन ओटा टाँका लगाइएको पीडित प्रशासकीय अधिकृत जोशीेले बताउनु भयो ।