मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा निर्माण व्यवसायीले गरेको लापरबाहीको कारण कारण कुलो पुरिदा स्थानीयहरू सिंचाइबाट वञ्चित भएका छन् । भने पहिरोका कारण स्थानीयहरूले आवागमनमा समेत जोखिम मोल्नु पर्ने बाध्यता रहेको छ ।
उक्त मार्गमा रामेछापको सुनापति गाउँपालिका–४ सिङ्गटीमा सडक निर्माणको क्रममा सडकको ढुङ्गा, माटो सोझै तल फालिएको छ । अक्कर भीरबाट ढुङ्गा, माटो फाल्दा च्याडिटार जाने सडक पुरिएको स्थानीय राज मैनालीले बताउनु भयो ।
सडक बनाउँदा माथिबाट ढुङ्गा, माटो फालेको कारण सिन्दुरे टारको सिंचाइ कुलो पनि पुरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा बनाइएको उक्त कुलो पूर्णरुपमा क्षति भएको घिमिरेले बताउनु भयो । कुलो पुरिएपछि स्थानीयको खेतमा सिंचाइ रोकिएको छ ।
उक्त सडकमा पैदल हिड्दा समेत पहिरोमा अड्किएको ढुङ्गा माटो झर्ने जोखिमले स्थानीयहरू त्रसित बनेका छन् । हावा चल्ने बित्तिकै सुख्खा पहिरो खस्ने र आवागमन गर्न नसकिने स्थानीय रमेश घिमिरेले गुनासो गर्नु भयो । ‘यातायात साधन त के पैदल हिड्दा पनि कतिखेर माथिबाट पहिरो आएर पुर्ने ठेगान छैन’, घिमिरेले भन्नुभयो ।
मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा सडक खन्दा निस्किएको ढुङ्गा, माटो उचितरुपमा व्यवस्थापन नगर्दा पर्यावरणमासमेत ठूलो क्षति भएको छ । खनेको ठाउँबाट डोजरले सोझै ढुङ्गा, माटो झारिदिँदा जङ्गल नष्ट भएको छ भने माटो सुनकोसी नदीमा थुप्रिएको छ । जसले गर्दा नदीको सतह उक्सिने तथा नदीको बहाव परिवर्तन हुने जोखिम बढेको छ ।
नदीको तटीय क्षेत्रका वासिन्दा प्रत्यक्ष प्रभावित जोखिम रहेको छ । नदीमा ढुङ्गा, माटो फालिएका कारण हिउँदको बेलामा पनि सुनकोसी धमिलो बग्न लागेको छ ।
नेपालको संविधानको धारा ३० मा मौलिक हक अन्तरगत स्वच्छ वातावरणको हकको व्यवस्था गरिएको भए पनि निर्माण व्यवसायीहरूको लापरबाहीले गर्दा वातावरणमा समेत प्रभाव परेको छ ।