बाँके बर्दियाका बाढी पीडित र प्रभावितहरूको विषयमा उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासमा भदौ २० गते सरोकारवाला निकायलाई विपक्षी बनाएर अन्तरिम आदेश सहितको परमादेश जारी गराई पाउँ भन्दै रिट निवेदन दर्ता गराइएको छ ।
अधिवक्ता विश्वजीत तिवारी, इन्सेकका बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डे, बर्दिया सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सोमबहादुर गुरूङले जिल्ला प्रशासन कार्यालय बाँके, बर्दिया, जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्ला प्रशासन कार्यालय बाँके र बर्दियाविरूद्ध रिट निवेदन दायर गरेका हुन् ।
गत साउन महिनामा बाँके र बर्दिया जिल्लामा आएको बाढी, डुबान र सो बाट भएको ठूलो जनधनको क्षतिका साथै नागरिकलाई परेको असर, पीडितको उद्धार, स्वास्थ उपचार, राहत र पुनर्स्थापनाको विषय तथा दैवी प्रकोपबाट नागरिकको स्वास्थ्य र वातावरणसम्बन्धी अधिकारमा पर्न सक्ने असरको विषय सार्वजानिक हित र सरोकारको विषय भएकोले विपक्षीहरूका उपर परमादेशको आदेशलगायत उपयुक्त आदेश जारी गरिदिन रिट दायर गरिएको अधिवक्ता सुनिल श्रेष्ठले बताए ।